नलगाड नगरपालिकाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो

  ०८० चैत २१ गते

नलगाड नगरपालिका कार्यालय मातहतका १८ ओटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले तलब नपाएको गुनासो गरेका छन् ।

नलगाड नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक भगवती बोहोराका अनुसार करारका स्वास्थ्यकर्मीले ६ महिनादेखि र दरबन्दीमा रहेका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन ।
स्वास्थ्यकर्मीले ६ महिनादेखि मासिक तलव भत्ता नपाउँदा मर्कामा परेका छन् । महिनाभर काम गरेर पारिश्रमिक नपाएपछि आर्थिक समस्यामा परेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

स्वास्थ्यकर्मीहरूले मासिक तलव भत्ता उपलब्ध गराउन पटक पटक माग गरेपनि नलगाड नगरपालिकाले सुनुवाई नगरेको स्वास्थ्यकर्मी भुपेन्द्र गिरीले जानकारी दिनु भएको छ । नलगाड नगरपालिकाले चैत १९ गते आयोजना गरेको अर्धबार्षिक समीक्षा कार्यक्रममा नगर प्रमुख डम्वरबहादुर रावत र प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले स्वास्थ्यकर्मीहरूको मागको विषयमा सम्बोधन नगरेको गिरीले आरोप लगाउनु भएको छ ।

तलब नपाउँदा दैनिक उपभोगका सामग्री खरिद गर्न, घर खर्च चलाउन लगायतका समस्या व्यर्होनु परेको स्वास्थ्यकर्मी राधिका पुनले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो “धेरैपटक तलब माग गरे पनि सुनुवाइ भएको छैन ।”

यस विषयमा नगरप्रमुख डम्बरबहादुर रावतसँग फोन सम्पर्क गर्दा आफू बैठकमा भएको भन्दै प्रतिकृया दिनु भएन । प्रमुख प्रशासकीय अधिकृत भट्टराईले आफु खुसी काम गर्न थालेपछि समस्या आएको नगर प्रमुख रावतको सचिवालयले जानकारी दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुख बीचको बेमेलले आर्थिक वर्ष सुरु भएको नौ महिना वित्दा समेत नलगाड नगरपालिकाको विकास बजेट २० प्रतिशत पनि खर्च भएको छैन । प्रमुख प्रशासकीय अधिकृत भटराई र कर्मचारीको तालमेल नमिलेपछि बजेट खर्च लगाएतका सेवा प्रवाहमा असर परेको छ ।


बासुदेव शर्मा