नयाँ वर्षमा नयाँ घरमा बस्ने माझीहरूको सपना अधुरै
२६ वर्षपहिले विस्थापित भएका बागलुङका माझीहरूको नयाँ वर्षमा नयाँ घर पाउने सपना पुरा नहुने भएको छ । २०४८ सालमा पोखरा-बागलुङ राजमार्ग निर्माणका क्रममा आफ्नो थातथलो खनिया घाटबाट १४ घर माझी परिवार विस्थापित भएका थिए ।
बाङ्गेचौरमा अस्थायी बसोबास गर्दै आएका माझी समुदायलाई ०७३ साल मङ्सिरमा उनीहरूको पुरानै बासस्थानमा फर्काउने गरी बस्ती निर्माण गर्ने सम्झौता भएको थियो । सो सम्झौतामा उनीहरूको पुरानै थातथलोमा बस्ती बसाल्ने निर्णय भएको थियो ।
एकवर्षे सम्झौताको यस वर्ष मङ्सिर २६ गते अवधि सकिएपछि नयाँ वर्षसम्म सम्पन्न गर्ने गरी ६ महिना 'म्याद' थप गरिएको थियो । थप गरिएको समयमा पनि बस्ती निर्माणको काम पुरा हुन सकेको छैन ।
निर्माणाधिन माझी बस्तीमा घरका साथै विद्युत, पानीलगायतका पुर्वाधार निर्माण गर्न बाँकी छ । न्यूनतम खर्चको घर निर्माण योजनामा बिजुली, पानीलगायतको व्यवस्थापन समावेश गरिएको थिएन । यसलाई जिल्लाका विषयगत कार्यालयसँग समन्वय गरेर व्यवस्थित गरिने बागलुङ नगरपालिकाले जनाएको छ ।
पुरानो थातथलोमा नयाँ घर पाउने खबरले विस्थापित माझी परिवार सुरूवातमा उत्साहित भए पनि निर्माणमा ढिलाई र चरम लापरवाही हुन थालेपछि चिन्तित देखिएका छन् । लामो समयदेखि आफ्नो घरमै बस्न पाउने आशामा बसेकी देउकली माझी काममा भएको ढिलासुस्तीले दिक्क भएको बताउँछिन् ।
नगरपालिकाले अघिल्लो दसैँमा घर दिन्छौँ भनेको हुनाले आफ्नो लागि निर्माण हुन लागेको घरनजिकै टहरा बनाएर बसेकी देउकली पिउने पानी र शौचालयको समस्या परेको बताउँछिन् । 'नगरपालिकाले दसैँमा घर दिन्छौँ भन्यो र यतै सर्यौँ शौचालय जान मन लागे खोला र जङ्गल खोज्नुपर्छ, वाक्क लाग्न थालेको छ ।'-देउकलीले भनिन् । '
'धेरै पटक पुनर्स्थापनाको आशा देखाए पनि काम नगर्दा निराश बन्नुपरेको छ ।'-स्थानीय माया माझीले भनिन्-'निर्माण कार्य धेरै हिसाबले अघि बढेकाले आशावादी थियौँ । तर, पछिल्लो समय निर्माण कार्यमा ढिलाई हुँदा निराशा छाएको छ ।'
विस्थापित माझी परिवार दुई दशकभन्दा बढी समयदेखि बागलुङको बाङ्गेचौरमा रहेको सामुदायिक बन र कालिगण्डकी किनारको मालढुङ्गा आसपासमा कष्टकर जीवन बिताउँदै आएका छन् ।
माझी बस्ती व्यवस्थापन समन्वय समिति बागलुङ नपा-१ रामरेखाले अहिले निर्माण कार्यमा भएको ढिलासुस्ती, कामको गुणस्तरमा लापरवाही, समितिसँगको समन्वयमा बेवास्तालगायतका कारण देखाउदै समितिमा आवद्ध सबैले सामूहिक राजिनामा दिएका छन् ।
नगरपालिकाको निर्माणमा ढिलाई, फितलो अनुगमन, ठेकेदार कम्पनीको चरम लापरवाही हुँदा पनि कार्यालय र जनप्रतिनिधिको बेवास्ता, गुणस्तरहिन सामग्रीको प्रयोग लगायतका कारण सामूहिक राजीनामा दिने निर्णयमा पुगेको माझी बस्ती व्यवस्थापन समन्वय समितिका अध्यक्ष केवी राना मगरले बताए ।
समितिसँगै समन्वय नगरी 'म्याद' थपिएको र काम गर्न सहज वातावरण नभएकाले राजिनामा दिइएको उनको भनाई छ । निर्माण कार्यमा भएको ढिलाई र लापरवाहीका बारेमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत नगरपालिकाले गम्भीरता नदेखाएकाले आफूहरूले हात झिकेको समितिका सदस्य महेन्द्र आचार्यले बताए ।
विस्थापित माझी परिवारको घर निर्माणका लागि बागलुङ नगरपालिका, निर्माण कम्पनी मुक्तिनाथ/बिएन/त्रिशक्ति जेभि निर्माण सेवा र माझी बस्ती व्यवस्थापन समिति बिच सम्झौता भएर काम अघि बढाइएको थियो ।
निर्माण जिम्मा लिएको मुक्तिनाथ जेभि कम्पनीका नारायण जिसीले डिजाइनमै समस्या भएको र बजेट निकासामा समस्या भएका कारण निर्माण कार्यमा ढिलाई भएको बताए । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले माझी परिवारलाई नयाँ उपहारको रूपमा नयाँ वर्षमा घर हस्तान्तरण गर्ने योजना रहे पनि समयमै काम सम्पन्न नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
'घामपानी सहेका माझी परिवारको पिडाको गहिरो अनुभूति हामीसँग छ ।'-नगरपालिका प्रमुख पौडेलले भने-'अब लालपुर्जा सहितको घर हस्तान्तरण गर्ने गरी जनप्रतिनिधिका हिसावले आवश्यक पहल र निर्देशनका साथ काम अघि बढाउने छौँ ।'
नगर विकास कोषको अनुदान ९८ लाख ३२ हजार रुपियाँ, नगर विकास कोषको ऋण १२ लाख २९ हजार रुपियाँ र बागलुङ नगरपालिकाका स्थानीयको १२ लाख २९ हजार रुपियाँ सहयोग गरी कुल १ करोड २२ लाख ९० हजार रुपियाँ लागतमा १४ वटा घर निर्माण सुरू गरिएको थियो । माझी बस्तीमा भूकम्प प्रतिरोधी दुई वटा सुत्ने कोठा, भान्सा कोठा र शौचालयसहितका कोठा निर्माण गरिने नगरपालिकाले जनाएको छ ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…
बाल विवाह र बहु विवाहको कसुरमा कैद
हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६ वर्षीय जितेन्द्र यादवलाई चैत १४ गते ८ महिना कैद सजाय भएको छ । जिल्ला…