नन्दप्रसादको मृत्युका ११ वर्षः दाहासंस्कार नहुँदा शव शिक्षण अस्पतालमै !

  ०८१ असोज  ६ गते

छोराका हत्यारामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै आमरण अनसनरत समयमा मृत्यु भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको शव ११ वर्षदेखि शिक्षण अस्पतालमा नै छ ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएका व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको माग गर्दै अधिकारी दम्पतिले सङ्घर्षका धेरै रुप प्रयोग गर्दै अनसन थाल्नु भएको थियो ।

अनसनरत अवस्थामा स्वास्थ्य गम्भीर भएपछि सरकारले अधिकारी दम्पतिलाई वीर अस्पताल पुर्‍याएको थियो । त्यहाँ पनि उहाँहरुले अनसन तोड्न मान्नु भएन ।

कृष्णप्रसाद अधिकारीको हत्या प्रकरण तथा न्यायका लागि पीडितको सङ्घर्ष यात्रा

सरकारले घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई गिरफ्तार गर्दै अधिकारी दम्पतिको अनसन तोडाए पनि गिरफ्तारीमा परेकाहरुलाई अदालतले सफाइ दिएपछि नन्दप्रसादकी पत्नी गङ्गामाया अहिले पनि वीर अस्पतालमै हुनुहुन्छ । २०७१ साल असोज ६ गते नन्दप्रसादको मृत्यु भएपछि गङ्गामायाले छोराको हत्यामा संलग्नलाई कारबाही नभएसम्म पतिको शव नबुझ्ने अडान लिँदै आउनु भएको छ । जसका कारण नन्दप्रसादको शव शिक्षण अस्पतालमा नै राखिएको छ । गङ्गामाया भने वीर अस्पतालमा हुनुहुन्छ ।

सशस्त्र द्वन्द्वकालमा नेकपा माओवादीका कार्यकर्ताले  अधिकारीका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको १७ वर्षको उमेरमा हत्या गरेका आरोप छ । २०६१ साल जेठ २४ गते चितवनमा कृष्णप्रसाद अधिकारीलाई माओवादीले निर्ममतापूर्वक हत्या गरेको भन्दै आरोपितलाई पहिचान गरी कारबाहीको मागसहित आमा गङ्गामाया अधिकारी पनि लामो समयदेखि सङ्घर्षरत हुनुहुन्छ ।

गङ्गामायाले भद्दनु भयो-'पहिलापहिला धेरै मान्छे भेट्न आउनुहुन्थ्यो । आजभोलि कोही आउनुहुन्न  । तरपनि म न्यायका लागि यहाँ बसिरहेकी छु । यो देशमा राज्य हुन्थ्यो भने मैले यसरी अनसन बसेर न्याय माग्ने दिन त आउँदैन थियो ।'

उहाँले थप्नु भयो-'मेरो छोरामो न्यायका लागि श्रीमानको मृत्यु भयो । त्यो शवले पनि छोराको न्यायलाई पर्खेको छ । त्यसैले म पनि न्यायकै पर्खाइमा छु । राज्य छ भने छिटो न्याय देओस् ।'

मानव अधिकारकर्मी चरण प्रसाईले अधिकारीको न्यायका लागि पररेको मुद्दा अदालतमा रहेको बताउनु भयो । 'यो मुद्दा जिल्ला अदालत, पुनरावेदन हुँदै अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । मुद्दा संयुक्त राष्ट्रसङ्घको मानवअधिकार समितिमा समेत पुगेको छ ।'-प्रसाईले भन्नु भयो ।

न्यायका लागि अनसनमा बसेको व्यक्तिको मृत्युवरण हुनु भनेको देशका लागि एकदमै लज्जाको विषय रहेको अधिकारकर्मी प्रसाईले बताउनु भयो ।

न्यायका लागि संयुक्त राष्ट्रसङ्घसँग गङ्गामाया अधिकारीको आग्रह

पार्वती साउद