नत गास नत बास, जिउनु न मर्नु !

आँखाभरी आँसु । चाउरी परेको अनुहार । घरबाट कुष्ठरोगी भन्दै गाउँ भन्दा टाढाको वनतिर पठाएको पीडा । घाँटीमा रातो, पहेंलो, र हरियो रङ्गको पोते । हातमा बाला । शरीरमा फाटेका लुगा । नत गास नत बास नै ! ती महिलाको यसैरी नै एक्लै बसेर दिनचर्य चलिरहेको छ । उनी यसैगरी यो एकान्त वनमा बसेको १२ वर्षभयो । उनको काखमा नत छोरा, नत छोरी, नत आफन्त नै छन् ।

Photo20170704Humla

पतिको मृत्यु पछि वेसाहारा भएकी ७० वर्षीया गोला शाही १२ वर्षदेखि ओढारमा बस्दै आएकी छन् । २०४८ सालदेखि कृष्ठरोगले च्यापेपछि उपचारको लागि सबै ठाउँमा धाएकी शाही सञ्चो नभएपछि अहिले नाम्खा गाउँपालिकाको लामा खोल्सीको जङ्गलमा रहेको ओढारमै बाँकी जीवन कटाउन बाध्य भइन् । पतिको मृत्युपछि बेसहारा भएकी सिमकोट गाउँपालिका-८ खोल्सी गाउँकी गोला शाही १२ वर्षदेखि ओढारमा बस्दै आएकी छन् । कुष्ठरोगको समस्याले दुवै हातका औँला गुमाएकी शाही काम गर्ने अवस्था नभएपछि अहिले बिहान र बेलुका समेतको छाक टार्न समस्या भइरहेको छ । ओढारमा बसेकी शाही लाई न खाने कुरा छ नत सुत्ने कपडा नै ! कलिलै उमेरमा कुष्ठरोग लागेपछि काम गर्न नसक्ने भएको हुँदा कहिले मागेर खाने त कहिले भोकभोकै सुत्ने गरेको उनले बताइन् । रातभरी चिसो, दिनभरी घाम अनि भोको पेट वृद्ध अवस्थाको पीडा कसैले पनि देख्दैन भन्दै हातले आँखा मिचिमिचि रुँदै आफ्ना दुख, पीडा र जीवनभरका वेदनालाई सुनाइन् । बझाङ जिल्लाको पिमीनौरा गाउँमा विवाह गरेकी गोला शाही, पतिको स्वर्गबासपछि माइतीको साहाराको आशा गरेर हुम्ला आएकी थिइन् । अहिलेसम्म माइती पक्षका आफन्तहरूले आफ्नो नजिक आउनसमेत डराउने गरेको र आफूलाई घृणित व्यवहार गरेको भन्दै दुवै आँखाभरी आँसु निकाल्दै आफ्नो वेदना पोखिन् ।

Photo20170704Humla1

बिहान र बेलुकाको छाक टार्नसमेत गाह्रो भएकी शाहीलाई यतिखेर नाम्खा गाउँपालिकाको खङ्गाल गाउँ र लामा खोल्सीका केही व्यक्तिले शाहीको अवस्था देखेर खाने कुरा दिइरहेको उनले बताइन् । माइतीघरका सदस्यले 'कुष्ठरोग सर्छ' भन्दै घरमासमेत जान नदिएको शाहीले आरोप लगाइन् । वृद्धा शाही भन्छिन्-"पकाएको खाना खानसमेत समस्या भएको छ । मेरो हातका औँलाहरू छैनन् ।" परिवारका अन्य सदस्यलाई रोग सर्ने भन्दै माइतीले गाउँलेको साहरामा घरबाट निकालिदिए, भक्कानिँदै आँखाभरी आँसु पारी उनले दुखेसो पोखिन् । पहिला माइतीमा हुँदा आफूलाई यस्तो रोग नभए पनि पतिबाट कुष्ठरोग सरेको उनले सुनाइन् ।

Photo20170704Humla2

पतिको मृत्युपछि बेसहारा भएर माइतीघरमा आए पनि माइतीको सहयोग भन्दा पनि पीडा सहनु परेको शाहीको दुखेसो छ । ०४८ सालदेखि कुष्ठरोगले च्यापेपछि उपचारका लागि सबै ठाउँमा गएकी शाही सञ्चो नभएपछि अहिले खङ्गाल गाउँको लामा खोल्सीको जङ्गलमा रहेको ओडारमै बस्दै आएकी छन् । शाही भन्छिन्-'यस्तो भयानक रोग लागेपछि मेरा औँला नै छैनन् ।'-हात देखाउँदै भनिन्-'त्यसैको डरले पनि मानिसहरू मेरो नजिक आउन डर मान्छन् ।' अहिले आफूलाई कसैले पनि वास्ता नगरेको र आफूलाई घृणा गरेकोमा सधैँभरी मन रोएको उनको दुखेसो छ ।' मलाई कसैले वास्ता गर्दैनन् ? गाउँ घरको छेउमा जाने बित्तिकै 'कोरी महारोगी' आई भन्दै जिस्क्याउँछन् र हप्काउँदै लखेट्छन ।'-उनले आँसु झार्दै भनिन्-'केही खानेकुरा दिँदा पनि टाढाबाटै फाल्ने गर्दा साह्रै दुःख लाग्छ ।' माइतीको घर बनाउँदा आफूले निकै काम गरे पनि अहिले आफू बेसहारा हुँदा वास्ता नगरेकोमा उनको दुखेसो छ । ओडारमा बसेकी शाहीलाई न खानेकुरा छ न सुत्ने कपडा छ । गाउँगाउँमा गएर माग्न नसकेपछि भोकै बस्नु पर्ने उनले सुनाइन् ।

आफू सानै हुँदा फुपूलाई बिरामी लागेको र उपचारका लागि बुवाले शहरतिर लगे पनि सञ्चो नभएपछि अरूलाई सर्ने डरले ओडारमा बसाएको शाहीका भदो भाइ ज्ञानेन्द्र शाहीले बताए । समुदायका अन्य मानिसले पनि आफ्नो घरपरिवारलाई नराम्रो दृष्टिले हेर्ने र एक्ल्याउन थालेपछि बाध्य भएर फुपूलाई ओडारमा राखेको उनको भनाइ छ । ओडारमा राखे पनि खान अपुग भएको खण्डमा आफूले पटकपटक ओडारमै पुर्‍याउने गरेको शाहीकी भाउजु जुलाफी शाहीले बताइन् ।

सरकारले कुष्ठरोगीको निःशुल्क उपचार गर्दै आएको छ । तर, यी वृद्धाले १२ वर्षदेखि घरबाट विस्थापित हुनु परेको छ भने उपचारको अभावमा पीडा सहनु परेको छ । शाहीलाई घरमा राख्दा अरूलाई पनि कृष्ठरोग सर्छ भन्दै छिमेकीले समेत गाउँ भन्दा टाढा राख्न परिवारलाई दबाव समेत दिएको बताइएको छ । सरकारले कुष्ठरोग उन्मुलनको घोषणा गरेता पनि गोला शाही लाई भने जिल्लाका सम्बन्धित निकायले बेवास्ता गरिरहेको छ । वर्षेनी कुष्ठरोग उपचारसम्बन्धी लाखौँ रुपियाँ सरकारले बजेट खर्च गरेपनि वालुवामा पानी हाले झैँ भएको छ ।


नन्द सिंह