नगरपालिकाले लिँदै आएको करविरुद्ध व्यवसायी आन्दोलितः लगातारको बन्दले जनजीवन कष्टकर (फोटो फिचर)

  ०८१ भदौ ८ गते

रोल्पा नगरपालिकाले गरेको कर वृद्धिको विरुद्धमा सङ्घर्ष, व्यवसायी, परामर्श समितिद्वारा ०८१ भदौ ६ गतेदेखि अनिश्चितकालका लागि बन्द हुँदा स्थानीयहरूको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण सरकारी कार्यालयका सेवाहरू प्रभावित हुनुका साथै गरिखाने वर्गका मानिसलाई निकै सास्ती भएको छ ।

Photo24082024Rolpa9

व्यवसायीहरूको बन्दले ढुवानी सेवा ठप्प भएपछि बजारमा उपभोग्य सामग्रीको मुल्य आकासिएको छ भने ग्रामीण क्षेत्रबाट उपचारका लागि सदरमुकाम आउने बिरामी र उनका आफन्त थप समस्यामा परेका छन् । एम्बुलेन्सको चर्को भाडाका कारण विपन्न समुदायका बिरामीलाई समस्या परेको रोल्पा नगरपालिका–१०, धवाङकी एलिसा थापाले दुःखेसो पोख्नुभयो ।

Photo24082024Rolpa1

दैनिक उपभोग्यका सामान लगायत सम्पूर्ण अत्यआवश्यक कामका लागि बजार झरेको स्थानीयबासी भने मर्कामा परेका छन् । रोल्पा नगरपालिका–१०, धवाङकी एलिसा थापा किनमेलका लागि बजार आउनुभयो । तर बजार नखुलेपछि रित्तोहात घर फर्कन पर्ने अवस्था रहेको बताउनुभयो । यस्तै बन्दका कारण सयौँ ग्रहकहरू मर्कामा परेको सुनछहरी गाउँपालिका–३ का स्थानीय भरत वलीले बताउनु भयो । यस्तै आन्दोलनकारीले रोल्पा नगरपालिकाले सञ्चालन गर्दै आएको नगर डेरिमा ताला लाएका छन् । जसकारण डेरिमा दुध किन्न गएका सयौँ ग्राहक दुध नलिएर फर्किएको स्थानीय टेकमन विष्टले बताउनु भयो ।

Photo24082024Rolpa3

नगरपालिकाले कर सङ्कलनका लागि बनाएको नियम तथा त्यसको कार्यान्वयनको विषयमा उद्योगी–व्यवसायीले करिब एक साता पहिलेदेखि विरोध गर्दै आन्दोलित बनेका छन् । पछिल्लो समय उद्योगी व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू थप शसक्त बनाउँदै लगेका छन् । रोल्पा उद्योग वाणिज्य सङ्घको अगुवाइमा गरिएको विरोधका कार्यक्रमस्वरूप ०८१ साउन ३२ गते पत्रकार सम्मेलन गरिएको थियो । त्यसभन्दा पहिले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएको रोल्पा उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

Photo24082024Rolpa8

रोल्पा नगरपालिकालाई व्यवसायीहरूले निस्पक्ष रूपमा सहयोग गर्दै आएको बताउँदै उनीहरूले नगरपालिकाले अभिभावकत्व ग्रहण गर्नको साटो मनमर्जि शैलीमा चल्न थालेकोमा आफूहरू असन्तुष्ट भएको रोल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशव कुमार आचार्यले बताउनु भयो । नगरमा दर्ताको मितिलाई भन्दा पनि पान नम्बर लिएको मितिलाई आधार मानेर जरिवाना सहित एकाएक करको भारी थुपारेर व्यवसायीलाई आतङ्कित बनाएको उहाँको आरोप छ । नीति विधिमा टेकेर प्रक्रियागत ढङ्गबाट ल्याइने कर तिर्न भने आफूहरू सधैँ तयार रहेको रोल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष आचार्यले भन्नुभयो । पछिल्लो समय नगरपालिकाले गरिरहेको कर सङ्कलनले व्यवसायीलाई निरुत्साहित गरेको भन्दै उनीहरूले यस्तो अव्यावहारिक र अवैज्ञानिक कर प्रणालीलाई उद्योगी–व्यवसायीले बहिष्कार गर्ने बताउँदै आन्दोलनका कार्यक्रमहरू गर्दै आएका छन् ।

Photo24082024Rolpa6

सङ्घर्ष समितिको नेत्रित्व गरिरहनुभएका रोल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशवकुमार आचार्यले भर्खर दर्ता प्रक्रियामा गएका व्यवसायीलाई पनि ७५ सालदेखिको कर ल्याएर नगरपालिकाले आफूहरूलाई ठूलो अन्याय गरेको दाबी गर्नुभयो । रोल्पा नगरपालिकाले आफ्नै मातहतको राजस्व परामर्श समितिमा समेत कुनै छलफल नगरी एक पक्षीय कर वृद्धि गरेको उहाँले बताउनु भयो । अध्यक्ष आचार्यले त्यसलाई तुरुन्त सच्याउन माग गरिएको बताउनु भयो ।

Photo24082024Rolpa5

रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीले कर तिर्नु सबै नागरिकको दायित्व भएको बताउनु भयो । व्यवसायीले आफूले सञ्चालन गरेको व्यावसायिक कर तिर्नुपर्ने उहाँको भनाइ छ । उहाँले स्थानीयहरूको जनजीवन कष्टकर बनेका कारण आफूहरू समस्याको समाधान तिर लागि परेको बताउनु भयो ।

Photo24082024Rolpa

Photo24082024Rolpa2

Photo24082024Rolpa4


तिलक घर्तिमगर