नगरपालिकाले पाठ्यपुस्तक उपलब्ध नगराउँदा कक्षामा सुनेकै भरमा परीक्षा दिन बाध्य विद्यार्थीहरू

  ०८१ कात्तिक १६ गते

वीरेन्द्रनगर नगरपालिकाका विद्यालयहरूमा कक्षा ६-८ मा अध्ययनरत विद्यार्थीहरूले अहिलेसम्म उनीहरूले पढिरहेको स्थानीय विषय (हामी र हाम्रो वीरेन्द्रनगर)को पाठ्यपुस्तक प्राप्त गरेका छैनन् ।

तिहारपछि विद्यार्थीहरूकाे अर्धवार्षिक परीक्षा हुँदैछ । सङ्घीयतापछि आधारभूत तह (१-८) को शिक्षाको अधिकार स्थानीय तहलाई प्राप्त भएको छ । सङ्घीयता आएको आठ वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर नगरपालिकाले स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गर्न सकेका छैनन् । जसका कारण विद्यार्थीहरू कक्षाकोठामा शिक्षकले पढाएको सुनेकै भरमा परीक्षा दिन बाध्य छन् ।

सपुरा बुढा कृष्ण संस्कृत तथा साधारण माध्यामिक विद्यालय, इत्राममा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । उहाँले पाठ्यपुस्तक नहुँदा शिक्षकले भनेका कुरालाई नै आधार मानी परीक्षा दिनुपरेको गुनासो गर्नुभयाे । 'पाठ्यपुस्तक नहुँदा परीक्षामा कस्ता प्रश्न आउने हुन् भन्ने अन्योलता छ । शिक्षकले भनेका कुरा आधिकारिक र तथ्यपरक नभएकाले नगरका विभिन्न क्षेत्रसँग सम्बन्धित आधिकारिक जानकारी प्राप्त भएको छैन' - बुढाले भन्नुभयाे ।

कक्षा ७ मा अध्ययनरत त्रिपुरेश्वर माध्यामिक विद्यालय, ढोडेखालीकी छात्रा भविशिका आचार्यले पनि अहिलेसम्म आफूले अध्ययन गरेको स्थानीय विषयको पाठ्यपुस्तक पाउनुभएकाे छैन । 'शिक्षकका कुरा सुनेकै भरमा परीक्षा दिनुपर्छ । किताब नपढेरै हतारहतार शिक्षकका कुरा कापीमा सारेर सो कुरालाई नै आधिकारिक मानी परीक्षा दिनुपरेको छ । यस्तो बाध्यता कहिलेसम्म ?' - आचार्यले भन्नुभयाे । भविशिकाले पाठ्यपुस्तकबिनै परीक्षा दिएकाले गत वर्षको वार्षिक परीक्षामा सोचेजस्तो नतिजा प्राप्त गर्न नसकेको बताउनु भयाे ।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय खजुरामा कक्षा ८ मा अध्ययनरत आशिका विकले पाठ्यपुस्तकबिनै परीक्षा दिँदा राम्रो नतिजा ल्याउन नसकेको दुखेसो पोख्नुभयाे । 'सरले कक्षाकोठामा पढाउनुहुन्छ,कापीमा सार्न पनि भ्याइँदैन । शिक्षकको भनाइ सुनेकै भरमा परीक्षा दिँदा नगरस्तरीय परीक्षामा सोचेजस्तो नतिजा ल्याउन सकिएला जस्तो छैन । नगरस्तरीय वार्षिक परीक्षा आउँदासम्म पनि किताब आउने नआउने टुङ्गो छैन' - विकले भन्नुभयाे ।

प्रभात माध्यामिक विद्यालय, कोलडाँडामा आधारभूत तह (६-८) मा स्थानीय विषय अध्यापनरत शिक्षक हिरामणि पोख्रेलले नगरपालिकाले अध्यापन गराइरहेको स्थानीय विषय सीपमूलक र व्यावहारिक नभएको गुनासो गनुभयाे । शिक्षक पोख्रेलले भन्नुभयाे - 'स्थानीय भाषा, संस्कृति, समेटिएको पाठ्यपुस्तक तयार गर्नुपर्छ । शैक्षिक, अवलोकन भ्रमणको बारेमा पनि उल्लेख गरी यथाशीघ्र पाठ्यपुस्तक प्रकाशन गर्नुपर्ने देखिन्छ ।' पोख्रेलले पाठ्यपुस्तक नहुँदा अरु विषयको तुलनामा आफ्नो विषयको राम्रो नतिजा आउन नसकेको बताउनु भयाे ।

त्रिपुरेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक रुद्र बहादुर खत्रीले पाठ्यपुस्तक नहुँदा विद्यार्थीले मिहिनेतका साथ नपढ्ने र शिक्षकले राम्रोसँग नपढाउने गुनासो गर्नुभयाे । 'शिक्षकले दु:ख गरी खोज, अनुसन्धान गरेर पढाए भने पनि विद्यार्थीले स्थानीय विषयलाई महत्त्व नै दिँदैनन् । जुन उद्देश्यले विद्यार्थीलाई स्थानीय विषय पढाइएको हो, पाठ्यपुस्तक नहुनाले सो उद्देश्य परिपूर्ति हुन सकेको छैन । स्थानीय भाषा, धर्म, संस्कृति, कला, साहित्य आदिको बारेमा जानकारी दिन स्थानीय विषय पढाइएतापनि पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरूले यी क्षेत्रसँग सम्बन्धित सही तथ्य र जानकारी प्राप्त गर्न सकेका छैनन् ।' - उहाँले भन्नुभयो ।

प्रधानाध्यापक खत्रीले नगरका विभिन्न विषयसँग सम्बन्धित सही तथ्य र जानकारीहरू समावेश गरी यथाशीघ्र पाठ्यपुस्तक प्रकाशन गर्न नगरपालिकालाई सुझाव दिनुभयाे । माथि उल्लेखित विद्यालय मात्रै हाेइन, वीरेन्द्रनगरका सबै विद्यालयमा कक्षा ६-८ को स्थानीय पाठ्यपुस्तक नहुँदा किताब बिना नै विद्यार्थीहरू परीक्षा दिन बाध्य छन् ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले स्थानीय पाठ्यपुस्तक क्रमिक रूपमा प्रकाशन हुँदै गरेको बताउनु भयाे । 'आर्थिक वर्ष २०७८/७९ मा पाठ्यक्रम प्रकाशन भयो । शैक्षिक सत्र २०८० मा आधारभूत तह(१-३) को पाठ्यपुस्तक प्रकाशन गरियो । शैक्षिक सत्र २०८१मा आधारभूत तह (४-५) को पाठ्यपुस्तक प्रकाशन भयो । कक्षा ६-८ को पाठ्यपुस्तकको मस्यौदा तयार भई प्रकाशोन्मुख अवस्थामा रहेको छ' - ढकालले भन्नुभयाे । प्रमुख ढकालले अब आगामी शैक्षिक सत्र २०८२ सम्म आधारभूत तह (६-८) को पाठ्यपुस्तक प्रकाशन गरी वितरण गरिने जानकारी दिनुभयाे ।


जगतदल जनाला विक