नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगको खोप र औषधि उपलब्ध नगराउँदा किसानमा आर्थिक क्षति

  ०८० साउन १० गते

मन्थली नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगको खोप र औषधि समयमा उपलब्ध गराउन नसक्दा किसानहरूका पशु रोगका कारण बिरामी पर्नुका साथै मरेर आर्थिक क्षति व्यहोर्नु परेको छ ।

नगरपालिकाको पशु सेवा शाखाले खोप र औषधि उपलब्ध नगराउँदा आफूले पालेको गोरु मरेको मन्थली नगरपालिका-१ का किसान मेघराज घिमिरेले गुनासो गर्नुभयो । ‘रोग आउने बित्तिकै पटक पटक कार्यालयमा फोन गरेर खोप लगाइदिन अनुरोध गरियो, प्राविधिकले खोप छैन भनेर लगाइदिएनन्, रोग आयो, वस्तु बिरामी परे, बजारबाट ४ सय रुपियाँको दरले खोप किनेर लगेर लगाएँ, ढिलो भएछ, गोरु बचाउन सकिएन’, घिमिरेले भन्नुभयो ।

मन्थली नगरपालिका-८, चिसोपनीका किसानको पनि त्यही गुनासो छ । पटक पटक पशु प्राविधिकलाई बोलाउँदा पनि बिरामी पशु वस्तु हेर्न नआएको उहाँहरूको गुनासो छ । ‘प्राविधिकलाई लिन जाँदा पनि आउनु भएन, पशु वस्तु बिरामी पर्दा सरकारले हेरेन’, स्थानीय चन्द्रमाया श्रेष्ठले भन्नुभयो ।

करिब २० हजार गाई, भैँसी र गोरु रहेको मन्थली नगरपालिकामा १० हजार बढी पशु वस्तुमा लम्पी स्किनको प्रकोप देखिएको अनुमान गरिएको छ । ती मध्ये मन्थली नगरपालिकाको पशु विकास शाखाले ३ हजार ५ सय पशु वस्तुलाई र वडा नं १२ को वडा कार्यालय आफैँले औषधि खरिद गरी ६ सय २५ पशु वस्तुलाई लम्पी स्किनविरूद्ध खोप लगाएको मन्थली नगरपालिकाको पशु विकास शाखाका प्राविधिक मुकुन्द खड्काले जानकारी दिनुभयो । सो रोगबाट ४० ओटा भन्दा बढी पशु वस्तु मरिसकेको उहाँले बताउनु भयो ।

अहिले पनि रोगबाट किसानका धेरै पशु वस्तु बिरामी परेका छन् । धान रोपाइँका बेलामा गोरु रोग लागेर बिरामी पर्दा कतिपय किसानले धान खेती समेत लगाउन पाएका छैनन् ।

एकै पटक महामारी फैलिएको र कार्यालयमा स्टक औषधि र बजेट नहुँदा किसानको माग अनुसार सेवा पुर्‍याउन नसकिएको खड्काले बताउनु भयो । तथापि सकेसम्म प्राविधिकहरू सेवामा खटिरहेको खड्काले जानकारी दिनुभयो ।


नवराज घिमिरे