नगरपालिकाले एक महिनादेखि नगर अस्पताल र स्वास्थ्यचौकी बन्द गर्दा सेवाग्राही मर्कामा

  ०७९ साउन २८ गते

पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जयसवारले साउन ३ गते एक सूचना प्रकाशन गरी नगर अस्पताल र पिपरपाती पचरौता स्वास्थ्य चौकीमा सञ्चालन भइरहेको ल्याव सेवा बन्द गरेपछि सेवाग्राही मार्कामा परेका छन् ।

नगर अस्पतालमा २४ सै घण्टा सञ्चालन भइरहेको बर्थिङ सेन्टरका सेवाहरु बन्द गरेपछि सेवाग्राही समस्यामा परेका हुन् ।

संविधानको अनुसूची ८ र ९ मा स्थानीय तहको अधिकारको सूचीमा तोकिए बमोजिमका सेवा बन्द गरेर पचरौता नगरपालिकाको कार्यालयले नागरिकको स्वास्थ्य अधिकार उल्लङ्घन गरेको कानुन व्यवसायी परमहंश केशरीले बताउनु भयो ।

पचरौता नगरपालिका–५ बेल्दारीकी ५० वर्षीया कुलतपतिदेवी महतोले २५ वर्षीया बुहारीलाई साउन ५ गते सुत्केरी बेथा लागेर नगर अस्पताल जाँदा बन्द भएको थाहा पाएकाले उपचार गर्न नपाएको बताउँदै बुहारीलाई लिएर भारतको मोतिहारी जानु परेको गुनासो गर्नु भयो ।

सोही टोलकी २२ वर्षीया गर्भवती सतिदेवी यादवको पेट दुःखेर अस्पताल जाँदा नगर अस्पताल बन्द रहेकाले रातको समयमा उपचार गराउन सिम्रोनगढ नगर अस्पतालमा लिएर गएको पीडित पक्षाले जनाएको छ ।

पचरौता नगरपालिका–५ करमवा टोलका २७ वर्षीय गनेशकुमार यादवलाई साउन २२ गते कुकुरले टोकेपछि नगर अस्पतालमा उपचार नपाएर भारतमा गएर उपचार गराउनु परेको पीडितले दुःखेसो पोख्नु भयो ।

नगर प्रमुखले नगर अस्पताल बन्द रहेकाले कुनै पनि कामकाज नगर्न र अस्पताल कुरेर मात्र बस्न भनेको अस्पतालका प्रशासन प्रमुख रमलेश यादवले बताउनु भयो ।

नगर अस्पतालमा सर्पदंशको सुई दिन जाँदा अस्पताल बन्द भएकाले सुई लगाउन नपाएको इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेललाई साउन २६ गते पचरौता नगरपालिका–५ मठवा टोलका ४० वर्षीय वीरबहादुर प्रसाद यादवले भेटेर निवेदन दिनु भयो ।

इन्सेक बारा प्रतिनिधि नगर अस्पताल अनुगमन गर्न आएको सुनेर उहाँ सँगै विभिन्न समस्या लिएर नौ जनाले आ–आफ्नो समस्या राख्नु भएको थियो ।

पचरौता नगरपालिका–५ मठवाटोलकी ६५ वर्षीय फुलादेवी महतो साउन २५ गते ब्लडप्रेसर बढेर नगर अस्पताल आउँदा अस्पताल बन्द रहेकाले उपचार नपाएको बताउनु भयो ।

उहाँ अस्पतालको गेटमा बेहोस भएर लडिरहेको अवस्थामा गाउँका मानिसले देखेर पानी मुखमा राखेपछि होसमा आएको बताउनु भयो ।

नगर अस्पतालका प्रशासन शाखा प्रमुख रमलेश यादवले आफु एक जना मात्र अस्पतालमा रहेको बताउनु भयो ।

उहाँले नेपाल सरकारको मापदण्ड अनुसार ३० जना कर्मचारी रहेको अस्पताल साउन ३ गते नगर प्रमुखले सूचना टाँसेर बन्द गर्नु भएको बताउनु भयो ।

अस्पतालमा दुई जना स्वीपर, एक जना गार्ड, एक जना एमबिबिएस, चार एचए, पाँच सिमए, पाँच अनमि लगायत ३० जनाको टिम हुनुपर्नेमा एक्लै भएको र उपचार नगर्ने आदेश भएकाले कार्यालयमा बसिरहेको बताउनु प्रशासन शाखाका प्रमुख यादवले बताउनु भयो ।

पचरौता नगरपालिकाका सेवाग्राहीले नगर अस्पताल बन्द भएर समस्या भएको साउन २६ गते इन्सेक बारा प्रनिनिधि भोलानाथ पौडेललाई निवेदन दिएपछि जिल्ला प्रनिनिधिले नगर प्रमुखसँग साउन २६ गते नै भेट गरी अस्पतालको सेवा सुचारु गर्न पहल गर्नु भएको हो ।

नगर प्रमुख जलन्धर सिंहले निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव सम्पर्क विहिन रहेकाले आर्थिक वर्ष २०७९ र ०८० नगर सभा हुन नसकेको बताउनु भयो ।

उहाँले नगर सभाबाट करारमा रहेका कर्मचारीको म्याद थप गर्ने निर्णय हुन नसकेकाले कर्मचारीको म्याद थप्न नसकेर नगर अस्पताल बन्द भएको बताउनु भयो ।

उहाँले प्रमुख प्रशासकीय अधिकृत पठाउन स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री, प्रधानमन्त्री सबैलाई गुहार गरेपनि प्रमुख प्रशासकीय अधिकृत नपठाएकाले नगर अस्पताल र स्वास्थ्य चौकीका सेवा बन्द भएको बतानु भयो ।


इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम