नगरपालिकामा पाँच दिन देखिको तालाबन्दीले सेवाग्राही मर्कामा

छायाँनाथ रारा नगरपालिकामा जनप्रतिनिधिहरू बीच आपसी विवाद बढेपछि जनप्रतिनिधिहरूकै तालाबन्दीले पाँच दिन देखि नगरपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

नगरपालिकाका मेयर हरिजङ्ग शाहीले हरेक काम गर्दा एकल ढङ्गले गर्न थालेको भन्दै उपमेयर सुन्तला रोकाया पक्षले चैत १० गतेदेखि नगरपालिकाको मुल गेट र अन्य फाँटमा तालाबन्दी गरेपछि नगपालिकाबाट प्रवाह हुने सबै काम ठप्प हँुदा सेवाग्राही मर्कामा परेका हुन् ।

१४ ओटा वडा रहेको सो नगरपालिका मातहतका अधिकांश वडा कार्यालयमा सचिवहरू नहुँदा जन्म, विवाह र मृत्यु दर्ताको सिफारिसको काम स्थानीयले नगरपालिकाबाटै लिने गरेका थिए ।

बन्दका कारण व्यक्तिगत घटना दर्ता गर्न र सिफारिस लिन आउने सेवाग्राही मर्कामा परेका हुन् । छाँयानाथ रारा नपा–४ का कलबहादुर भामले बुवाको मृत्यु दर्ता गर्न आएको भएपनि कार्यालयमा तालाबन्दी गरिँदा दुईदिनदेखि विवाद समाधान हुने दिन कुरेर बसेको गुनासो गरेका छन् ।

मेयर शाहीले प्रदेश सरकारको ऐन विपरीत नौ महिनासम्म पनि नगर सभा नबोलाएको, चार महिनादेखि नगर कार्यपालिका बैठक नबोलाएको, नगरको वार्षिक समीक्षा समेत नगरेकोलगायत ६ बुँदे माग पूरा नभएसम्म नगरपालिकामा तालाबन्दी जारी रहने उपमेयर सुन्तला रोकायाले बताइन् ।

विद्यालयको कामको लागि नगरपालिका आउँदा नगरपालिकाको मुलगेटमै तालाबन्दी गरेपछि काम सम्पन्न नभई फर्किनु परेको छायाँनाथ रारा नपा–११ स्थित प्रभात माध्यामिक विद्यालय रोवाका शिक्षक मैनादल बुढाले बताए ।

नगरपालिकामा तालाबन्दी भएपछि मेयर र उपमेयर दुवै पक्षलाई छलफल गराउन खोजे पनि मेयर जिल्ला बाहिर गएका कारण छलफल हुन नसकेको जिल्ला प्रशासन कार्यालय, मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए ।

तालाबन्दीका बारेमा फोनमार्फत् जानकारी लिँदा मेयर शाहीले भने उपमेयर लगायतको समूहले अनावश्यक आरोप लगाएर विवाद सृजना गरिरहेको प्रतिक्रिया दिए ।

नगरपालिकामा तालाबन्दी भएपछि कर्मचारीहरू दिनभर बसेर काम नगरी घर फर्किनुपर्ने अवस्था रहेको छायाँनाथ रारा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख परशुराम नेपालीले बताए ।


जीवन सेजुवाल