नगरपालिकाको कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा

  ०७८ असोज ७ गते

त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालयमा नेकपा माओवादी (केन्द्र) ले चार दिनअघि लगाएको ताला नखुल्दा सेवाग्राही मर्कामा परेका छन् ।

नगर सूचना प्रविधि अधिकृत हेमन्त बोहरालाई निलम्वन गरेको विषयमा माओवादी केन्द्रले ०७८ असोज ३ गते नगरपालिका कार्यालयको मुल ढोकामा तालाबन्दी गरेको थियो ।

नगरपालिका उपप्रमुख चन्द्राकुमारी बुढाले राजनीतिक पूर्वाग्रह राखेर बोहरालाई निलम्वित गरेको भन्दै तत्काल पुनर्वहाली गर्न माग राखी तालाबन्दी गरिएको माओवादी केन्द्रका नगर इन्चार्ज धर्मजित बोहराले बताउनुभयो ।

कार्यालयमा तालाबन्दी हुँदा सर्वसाधारणहरू सेवा लिनबाट वञ्चित हुनुका साथै कर्मचारीहरू समेत कार्यालय बाहिर बस्नु परेको नगरपालिकाका कर्मचारी  हरिचन्द्र हमालले बताउनुभयो । ‘सिफारिस लिन, सम्झौता गर्न आएका सेवाग्राही काम नभएर फर्केर गएका छन्,’ हमालले भन्नुभयो ।

त्रिपुरासुन्दरी नगरपालिका–२ रूमका टङ्कबहादुर थापाले छोराको नागरिकताको सिफारिसको लागि आएको तर, कार्यालय बन्द भएकोले फर्केर आउनु परेको गुनासो गर्नुभयो ।

तालाबन्दीपछि उपप्रमुख बुढा र प्रमुख प्रशासकीय अधिकृत प्रितिभक्त गिरीसमेत सुर्खेत गएकाले ताला खुलाउनेतर्फ पहल नभएको अन्य कर्मचारीको भनाइ छ ।

नगरपालिकामा २०७६ असारदेखि सूचना प्रविधि अधिकृतको रूपमा सोही नगरपालिका–६ पालुङका २८ वर्षीय हेमन्त बोहरालाई करारमा नियुक्त गरिएको थियो ।

Photo20210923Dolpa 1

‘आर्थिक वर्ष ०७७/०७८ को सम्पत्ति विवरण फारम भरेपनि हेमन्तजीले माथी रिपोर्टिङ नगर्दा उपप्रमुखले ५ हजार जरीवाना तिर्नु परेको थियो’ गिरीले भन्नुभयो–‘ त्यहि विषयमा जेठ १५ र असार २० मा बोहरालाई स्पष्टीकरण सोधिएकोमा चित्त बुझ्दो नभएपछि ०७८ भदौ २८ गते बसेको नगर कार्यापालिकाको बैठकले उहाँलाई निलम्बन गरेको हो ।’

निरन्तर जिम्मेवारी बहन गरिरहेका कर्मचारीलाई कामबाट हटाउनु अमानवीय कार्य भएकाले निलम्बित कर्मचारीको पुनर्वहाली र प्रमुख प्रशासकीय अधिकृत गिरीलाई कारवाही नभएसम्मको लागि आन्दोलन जारी रहने नेकपा माओवादी केन्द्रले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

आफू र कार्यकारीले मात्र नभई सिङ्गो कार्यपालिका बैठकले निर्णय गरेअनुसार निलम्बन गरिएको भन्दै उपप्रमुख बुढाले स्पष्टीकरणमा सोधिएका प्रश्नको चित्तबुझ्दो जबाफको साथै आवश्यक प्रमाण पेश गरेमा बोहरा पुन: नियुक्त हुन सक्ने बताउनुभयो ।

photo20210923Dolpa 2


विष्णुप्रसाद देवकोटा