नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार

  ०८० माघ २२ गते

राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबाट माघ २१ गते कार्यकक्षमै दुर्व्यवहार  भएको छ ।

नगरपालिकाका कर्मचारीहरुले एक विज्ञप्ति जारी गरी प्रमुख प्रशासकीय अधिकृत पौडेल आफ्नो कार्यकक्षमा काम गरिरहेको बेला ‘नेपाल कम्युनिष्ट पाटी विप्लव समूहका कार्यकर्ता हौं’ भनी परिचय दिएका दुईजना व्यक्तिले एक्कासी हातपात सहित दुर्व्यवहार  गरेको उल्लेख गरेका छन् ।

पौडेलले पनि आफूमाथि नेपाल कम्युनिष्ट पाटी विप्लव समूह भनी परिचय दिने दुई जना व्यक्तिले हातपात गरेको बताउनुभयो । कर्मचारीहरुले विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीका लमजुङ सेक्रेटरी रविन्द्र नखोलालाई पहिचान गरेको र अरु एकजनाको पहिचान गर्न नसकेको बताएका छन् ।

उक्त घटनाको ध्यानाकर्षण गराउँदै कर्मचारीहरु असुरक्षित भएको र निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्था नभएको महशुस गरेको कर्मचारीले बताएका छन् । कर्मचारीले घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानुन बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भय रहित वातावरणमा सेवा प्रवाह सुनिश्चितताका लागि सरकार समक्ष माग गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टी लमजुङ–तनहुँ–गोरखा–मनाङ व्यूरो इन्चार्ज चुडामणि ओलीले हातपात नभइ भनाभन भएको भन्ने जानकारीमा आएको बताउनुभयो ।

राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले आफू पोखरामा रहेको र घटनाबारे दुःख व्यक्त गर्दै कर्मचारीलाई काम नछोड्न आग्रह गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले घटनामा संलग्नको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको र खोजीकार्य भइरहेको बताउनुभयो ।


सुमित्रा भुजेल