धौलागिरी अस्पतालमा छैन जीवनजल, अभाव नभएको नगरपालिकाको दावी

  ०७८ कात्तिक २४ गते

निःशुल्क उपलब्ध हुनु पर्ने जीवनजल मौसम परिवर्तन भएसँगै झाडा बान्ताका बिरामी बढिरहेका बेलामा बागलुङमा अभाव भएको छ ।

धौलागिरी अस्पतालमा भाइरल ज्वरो, झाडा बान्ता लगायतका बिरामीको चाप बढी देखिएको छ । अस्पतालको फार्मेसीमा भने महिनौदेखि जीवनजल छैन । धौलागिरी अस्पतालमा सशुल्क र निःशुल्क गरी दुई ओटा फार्मेसी छन् ।

निःशुल्क फार्मेसीमा जीवनजल नपाएपछि सशुल्क फार्मेसीमा जीवनजल खोज्दा समेत नपाइएको बिरामीहरुले गुनासो गरेका छन् ।

दुर्गमका सामान्य स्वास्थ्यचौकी तथा महिला स्वास्थ्य स्वयम्सेविकाको घरमा समेत पाइने जीवनजल २ सय शैयाको उप–प्रादेशिक अस्पताल बनाउने घोषणा भएको धौलागिरी अस्पतालमा नपाइएको सेवाग्राहीले गुनासो गरेका हुन् ।

झाडा बान्ताको बिरामी भएर छोरालाई अस्पताल ल्याउनुभएकी सरिता शर्माले अस्पतालमा जीवनजल नपाएर बाहिरको फार्मेसीमा खरिद गरेको बताउनुभयो । सरकारले सरकारी स्वास्थ्य संस्थामा जीवनजल निःशुल्क पाइने व्यवस्था गरेको छ ।

केही दिनदेखि झाडापखालाको लागि अत्यावश्यक जीवनजल निःशुल्क फार्मेसीमा नरहेको फार्मेसीमा कार्यरत सुनिता शर्माले बताउनुभयो ।

अहिले धौलागिरी अस्पतालमा जीवनजल नभएको अस्पतालका फर्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताउनुभयो ।

अस्पतालको सशुल्क फार्मेसीमा केही दिनयता जीवनजल सकिएको सुवेदीले बताउनुभयो । उहाँले निःशुल्क फार्मेसीका विषयमा भने आफ्नो क्षेत्राधिकार नभएको बताउनुभयो ।

‘मैलै हेर्ने भनेको अस्पतालको सशुल्क फार्मेसी हो । निःशुल्क फार्मेसी हेर्ने मेरो क्षेत्राधिकारमा पर्दैन । समयमै औषधि ल्याउन खरिद ऐन नै परिवर्तन गर्नुपर्छ । नत्र भने औषधि सकिने बित्तिकै खरिद गर्ने प्रकृया थाल्दा ढिलो भइहाल्छ । नगदमा हामीले औषधी खरिद गर्न मिल्दैन ।’–सुवेदीले भन्नुभयो–‘स्वस्थ्य बीमाले सबै औषधि दिनु भन्छ । तर, खरिद ऐन बाधक छ । त्यसैले भनेको समयमा औषधि दिन सकिरहेका छैनौँ ।’

अस्पतालमा औषधि अभावको विषयमा जानकारी नआएको भन्दै प्रशासन विभागका तेजप्रसाद न्यूरेले तत्कालै जीवनजल लगायतका औषधि व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो ।

धौलागिरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जीवनजल लगायतका अत्यावश्यक औषधिको अभाव हुन नदिने बताउनुभयो ।

उहाँले फर्मेसीबाट जीवनजलको विषयमा जानकारी नआएकाले त्यसबारे बुझेर नभएको भए तत्कालै फार्मेसीमा जीवनजल उपलव्ध गराइने बताउनुभयो ।

धौलागिरी अस्पतालमा जीवनजल नपाइएपनि बागलुङ नगरका सबै स्वास्थ्य संस्थामा जीवनजल, सिटामोल लगायतका अत्यावश्यक औषधिको अभाव नभएको बागलुङ नगर स्वास्थ्य शाखाका संयोजक रामप्रसाद खनालले जानकारी दिनुभयो ।


सिर्जना पन्त