धिगा गाउँमा खानेपानी समस्या

जिल्लाको उत्तरी भेग नाम्खा गाउँपालिका–१ धिगा गाउँमा खानेपानीको समस्या भएको छ । करिब पाँच महिनादेखि धिगा गाउँमा खानेपानीको समस्या हुँदै आएको स्थानीयले गुनासो गरेका छन् ।

दुई घण्टाको पैदल लाग्ने लेख धिगाबाट खानेपानी ल्याएपनि अहिले गाउँमा हाहाकार जस्तै भएको स्थानीय सोनाम ग्याल्जन लामाले बताउनुभयो । स्थानीय लामाका अनुसा ४३ घरधुरी रहेको धिगा गाउँमा ०७३ सालमा प्रत्येक घरमा धारा निर्माण गरिएकाे थियाे । ०७३ सालमा युनिसेफ नामक संस्थाले ७२ लाख रुपियाँमा धिगा गाउँका प्रत्येक घरधुरीका लागि धारा निर्माण गरिदिए पनि अहिले मुहानमा पानी नहुँदा गाउँमा खानेपानीको समस्या छ ।

पानीको मुहान, रिजर्भ ट्याङ्की र पाइप लाइनमा समस्या भएपछि अहिले गाउँमा पानीको समस्या भएकाे हाे । घरमै जडान गरिएका धारामा पानी नआउदा गाउँभन्दा टाढा रहेका मुहानबाट पानी बोकेर पिउनु पर्ने बाध्यता रहेको लामाले बताउनुभयो ।

खेतमै सुक्न थाले बाली

पानीको अभाव भएपछि तरकारी तथा बालीनालीमा समेत समस्या भएको छ । पानी नपर्दा यस क्षेत्रका बालीनाली सुक्न थालेका छन् । लामो समयदेखि जिल्लामा पानी नपर्दा धिगा गाउँका खेतबारीमा पाक्न लागेका उवा र गहुँ सुक्न थालेको स्थानीय लामाले गुनासो गर्नुभयो ।

लामाले भन्नुभयो, “चिनो, कोदो खेतमा छरेर उम्रिए पनि पानी नपर्दा उम्रेको बोटहरु खेतमै सुक्न थालेको छ ।” पानी पर्ने आशमा यहाँका किसान छन् तर पानी पर्दैन । पानी नपर्दा यो वर्ष भोकमारी हुने चिन्तामा हुम्लाका किसान छन् ।” पानी नपर्दा उत्तरी नाम्खा गाउँपालिका मात्रै नभएर जिल्लाभरका किसानलाई चिन्तित बनाएको छ । खेतबारीमा उम्रेका बोटमा समेत असर गरेको छ । उसो त जेठमा पाक्ने बाली उवा, गहुँ र जौ बोटमै सुक्न थालेका छन् भने पात समेत पहेँला हुँदै गएका छन् ।

जेठ महिनामा हरियो देखिने हुम्ला सुख्खा देखिएका छन् । वैशाख महिनामा पानी नपर्दा खेतबारी सुख्खा देखिएका छन् । यो वर्षको हिउँदयाममा समेत हिउँ नपर्दा किसान चिन्तामा छन् ।

उक्त विषयमा गाउँपालिका उपाध्यक्ष तक्दिर लामसँंग बुझ्दा स्थानीयका लागि खाने पानीको व्यवस्था गर्न गाउँपालिकाले आगामी साउनमा बजेट छुट्याउने भएको उहाँले बताउनुभयो ।


नन्द सिंह