धारिलो हतियार प्रहार गरी पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार

  ०७९ असोज ६ गते

गौरीगंगा नगरपालिका–५ अण्डैयाकी ३१ वर्षीया ललिता नामजाली मगरमाथि असोज ६ गते धारिलोे हतियार प्रहार गरी हत्या गरेको आरोपमा  प्रहरीले ३५ वर्षीय पति शेरबहादर नामजालीमगरलाई गिरफ्तार गरेको छ ।

गत साउन महिनादेखि भारतमा रोजगारी गर्दै आएका आरोपित रामजालीमगर असोज ५ गते घर आई असोज ६ गते विहान पत्नीमाथि धारिलो हतियार प्रहरा गरेर हत्या गरेको र छोरीलाई समेत हत्याको प्रयास गरेकोे स्थानीय लक्ष्मी रामजाली मगरले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पत्नीको हत्यापछि  १७ वर्षीया छोरीमाथि समेत धारिलोे हतियार प्रहार गरी घाइते बनाएपछि आारोपितका १२ वर्षीय छोरा भागेर कराउँदै छिमेकीको घरमा आएपछि घटनाका बारेमा जानकारी भएको स्थानीय लक्ष्मीले बताउनु भयो ।

घटनाका बारेमा छिमेकीहरुले प्रहरीलाई जानकारी गराएपछि मसुरियाबाट खटिएको प्रहरी टोलीले भागिरहेको अवस्थाबाट आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी वेदप्रकाश जोशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले आरोपित विरुद्ध किटानी जाहेरी दिएपछि जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको समेत डिएसपी जोशीले बताउनु भयो ।

धारिलोे हतियार प्रहारबाट गम्भिर घाइते हनु भएकी बालिकाको सेती प्रदेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ ।

शवको पोष्टमार्टम गर्नका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा ल्याइएको छ ।


मैनामोती चौधरी