धाराको पानी खाएको भन्दै कुटपिट गरेको घटनाका आरोपितविरूद्ध उजुरी

परवानीपुर गाउँपालिका–३ का १२ वर्षीय राकेश रामले सोही ठाउँमा रहेको राधाकृष्ण मन्दिरको धारा (चापाकल) मा भदौ २४ गते पानी खाएको आरोपमा मन्दिरका पुजारी सोही ठाउँका ४५ वर्षीय रामदयाल यादवलगायतले कुटपिट गरेको भन्दै पीडित पक्षले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रञ्जितसिंह राठौरले पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदन इलाका प्रहरी कार्यालय सिम्रामा पठाउने र घटनाको अनुसन्धान हुने बताए ।

दलित चमार तल्लो जातिकाले ट्युवेल (चापाकल) छुँदा र पानी खाँदा छुवाछुत हुन्छ भन्दै मन्दिरका पुजारीले आफूलाई कुटपिट गरेको पीडित रामले बताए ।

पीडितकी आमा चन्द्रादेवीले छोरालाई छुवाछुत तथा भेदभाव गरी कुटपिट गरेको विषयमा बुझ्न जाँदा मन्दिरका पुजारीले भनेको उद्घृत गर्दै उनले भनिन्–‘तिमीहरू चमार जातिका हौँ । ट्युवेल (चापाकल) को पानी खाँदा र छुँदा अपवित्र हुन्छ ।’

घटनाका बारेमा बुझ्न जाँदा पुजारी रामदयाल यादव, ३० वर्षीय दिपक यादव, ५५ वर्षीय किसान यादव, २५ वर्षीय अनिल यादव, २४ वर्षीय अरबिन्द यादव, २६ वर्षीय राजेश यादव, २० वर्षीय रमेश यादव, २८ वर्षीय भोला साह रौनियारलगायतले मिलेर दलितले पवित्र मन्दिर छोएकाले मन्दिर अशुद्ध भयो भनी बाँसको लाठी, भाँटा, फलामको रड र धारिलो खुकुरीले दलित समुदायका व्यक्तिमाथि सोही दिन आक्रमण गरेको स्थानीय राखी रामले आरोप लगाइन् ।

आक्रमणमा परी स्थानीय ३६ वर्षीय सुमन रामको बायाँ हात तथा गोडा भाँचिएको र टाउकोमा चोट लागेको छ । त्यस्तै १६ वर्षीय आकाश रामको टाउकोमा चोट लागेको छ । गण्डक र जितपुरबाट खटिएको नेपाल प्रहरीको टोलीले उद्धार गरी घाइते सबैको उपचार हेल्थकेयर अस्पताल गण्डकमा गरिएको स्थानीय उपेन्द्र रामले बताए ।


भोलानाथ पौडेल