धामीझाँक्रीको कुटाइबाट एक जना महिलाको मृत्यु घटनाका आरोपित गिरफ्तार

  ०७९ वैशाख ४ गते

बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रन्चुला साउदलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले भिमदत्त नागरपालिका–७ हल्दुखालका ६० वर्षीय धर्मानन्द भट्ट र भिमदत्त नगरपालिका–१ बराकुण्डाका नारायण भट्टलगायत सात जनालाई वैशाख ३ गते गिरफ्तार गरेको छ ।

टाउको दुखेपछि स्थानीय छिमेकी कमला साउदको घरमा ०७८ चैत २८ गतेदेखि उपचारका लागि जानु भएको रन्चुलालाई भुतप्रेत लागेको र झारफुक गरेर निको गर्ने भन्दै आफूलाई धामीझाँक्री बताउँदै आएका धर्मानन्द भट्ट, नारायण भट्ट र कमला साउदले फलाम तताएर शरीरका विभिन्न अङ्गमा हिर्काएर कुटपिट गर्दा मृत्यु भएको पीडितकी छोरी सरीता साउदले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

धामीझाँक्रीहरुले झारफूक गर्ने नाममा कुटपिट गरी हत्या गरेको जानकरी प्राप्त भएपछि घटनाका अरोपित ६० वर्षीय धार्मानन्द भट्ट, ३८ वर्षीया गौरी साउद, ३१ वर्षीया कमला साउद, ७२ वर्षीय नारायण भट्ट, ४३ वर्षीय कुवेर साउद, ५२ वर्षीया जानकी गराल र ३६ वर्षीय चक्रसिंह साउदलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले बताउनु भयो ।

उहाँले मृतक महिलाको शरीरभरी निलडाम तथा शरीरमा छाला निस्किएको र शव कुहिएको अवस्थामा रहेकोले महिलाको केही दिन अगाडि नै हत्या गरी लुकाएर राखेको हनु पर्ने बताउनु भयो ।

धामीझाँक्रीहरुले कुटपिट गरी हत्या गरेको खबर वैशाख ३ गते मात्रै थाहा पाएपछि आरोपित विरुद्ध वैशाख ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बैतडी जिल्लामा रहँदै आएका मृतकका देवर पदम साउदले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले धामीझाँक्रीहरुको नेतृत्वमा जघन्य अपराध भएको पीडित पक्षले दावी गर्दै आएकाले घटनाको सत्यतथ्य छानविन तथा अनुसन्धान गरी घटनामा संलग्न व्याक्तिलाई कार्वाही तथा पीडित पक्षले न्याय पाउनु पर्ने बताउनु भयो ।

शवको पोष्टमार्टम गर्नका लागि महाकाली प्रदेशिक अस्पतालमा राखिएको छ ।


लिली कुँवर