धादिङमा सिटामोलको अभाव

  ०७९ असोज २६ गते

सरकारी अस्पतालमा मात्र बिरामी उपचार सम्भव नभएको अवस्था र औषधि पसलहरूले समेत सिटामोल नपाएपछि सिटामोल आवश्यक पर्ने धादिङ जिल्लाका बिरामीहरू समस्यामा परेका छन् ।

प्रतिनिधि सभा निर्वाचन र प्रदेशसभा निर्वाचन सुरु भएको अवस्थामा राजनितिक नेतृत्वले स्वास्थ्य क्षेत्रमा ध्यान नदिएको अवस्थामा सिटामोलको उत्पादक कम्पनीहरूले अभाव सिर्जना गराइ अन्य औषधि विक्रि गर्न थालेको पाइएको छ ।

सिटामोलको अत्याधिक माग भएपछि धादिङबेसीका मेडिकलहरूमा सिटामोल पाइन छाडेको छ भने अत्यावस्यक भएकाहरूलाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायिहरूले बताउनुभएको छ ।

सिटामोल अभाव भएपछि सिटामोल र अन्य किसिमका औषधि मिसिएको सिटामोलहरू बढी मूल्यमा विक्रि गर्न बजारमा ल्याएर कम्पनीहरूले नाफाको व्यापार गरिरहेका छन् ।

डेंगीका बिरामीलाई सिटामोल अत्यावस्यक पर्ने भएकोले बिरामी बढेको बेला भएको अभाव पूर्ति गर्नका लागि पहल भने भएको छैन ।

धादिङबेसीमा रहेको धादिङ असपतालमा अस्पताल भर्ना भएर उपचार गराउन आउने बिरामीका लागि सिटामोल उपलब्ध हुने भए पनि औषधि विक्रि गर्ने अस्पतालको फार्मेसीमा भने मागेजति सिटामोल दिन सकिने अवस्था नभएको फर्मोसीका सञ्चालकले बताएका छन् । नीजि मेडिकलहरूमा भने सिटामोलको अभाव नै भएको छ ।

धादिङबेसीमा रहेको रुपा मेडिकल हलमा २ सय ५० ट्याबलेट भएको सिटामोल असोज २५ गते नै सकिएको छ । सिटामोल किन्न आउनेलाई यत्तिकै फर्काउनु परेकोछ भने सरकारी अस्पतालले सिटामोल दिन नसकेपछि अस्पतालले लेखिदिएको पर्चा बोकेर बिरामीहरू बजार बजार चार्न थालेका छन् ।

डेंगीका बिरामी बढेको बेला धेरै सिटामोल चाहिने भए पनि कम्पनीहरूले सिटामोल नदिएको रूपा मेडिकल हलका सञ्चालक गोपी श्रेष्ठको भनाइ छ ।

धादिङमा डेंगुले महामारीको रुप लिएको छ । गत साउन १ यता करिब ३ महिनाको अवधिमा धादिङ जिल्लाका मात्रै १ हजार ८६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै जिल्लाका ९० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । अस्पतालमा विरामीको चापले बेड भरिएको छ ।

सिटामोल उत्पादक कम्पनी र होलसेल पसलेहरूले सिटामोल विक्रि गर्ने स्थानहरूमा नदिएर चरम अभाव सिर्जना गराइरहेको छन् भने बिरामीहरू सिटामोलमा अन्य औषधी मिसिएको सिटामोल बढी मूल्य तिरेर किन्य बाध्य पारिएको उपभोक्ता गिता खनालको भनाइ छ ।

अस्पताल आउने बिरामीलाई सिटामोल अभाव नभएको धादिङ अस्पतालले जनाएको छ । तर बजारमा भने खरिद गरेर लान सकिने अवस्था छैन ।


सीताराम अधिकारी