धरौटीमा रिहा भएलगत्तै अदालत परिसरबाट पुनः गिरफ्तार

  ०७८ असोज १८ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वजिल्ला इञ्चार्ज सङ्खुवासभा,चैनपुर नगरपालिका–६ का ५४ वर्षीय पुष्प कोइरालालाई प्रहरीले असोज १५ गते जिल्ला अदालत इलामबाट रिहा हुने बित्तिकै पुन गिरफ्तार गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्गनामको आदेशमा ५ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएलगत्तै अदालत परिसरबाट प्रहरीले कोइरालालाई पुन गिरफ्तार गरेको सो पार्टीका युवा सङ्गठन इलाम संयोजक मदन गजमेरले बताउनु भयो ।

तत्कालीन अवस्थामा प्रतिबन्धित पार्टीमा संलग्न भएका कोइरालामाथि विस्फोटक पदार्थ, एनसेल टावरमा आक्रमणलगायतमा मुद्दा रहेको भन्दै प्रहरीले ०७७ वैशाख २२ गते कोइरालालाई गिरफ्तार गरेको थियो ।

विष्फोटक पदार्थ मुद्दामा ५ लाख रुपियाँ धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि थुनामा रहेका कोइराला असोज १५ गते धरौटी बुझाएर रिहा भएको अदालतका श्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले कोइरालाविरूद्ध सङ्गखुवासभा जिल्ला अदालतमा हातहतियार तथा खरखजाना मुद्दा रहेकाले गिरफ्तार गरिएको बताउनु भयो । डिएसपी श्रेष्ठले भन्नुभयो ‘कोइरालालाई पक्राउ गरिएको होइन, प्रहरी नियन्त्रणमै रहेको मान्छेलाई सङ्गखुवासभा पठाउन लागिएको हो,। यो कामलाई पक्राउ भनिँदैन, उनीविरूद्ध जिल्ला अदालत सङ्गखुवासभा मुद्दा रहेकाले अदालतमा उपस्थित गराउन लागिएको हो ।’

सो पार्टीका युवा सङ्गठनका जिल्ला संयोजक मदन गजमेरले यसअघि सरकारसँग भएको तीन बुँदे सहमतिविपरीत कोइरालालाई पुनः गिरफ्तार गरेको बताउनु भयो ।

०७७ फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकार र प्रतिवन्धित पार्टीबिच तीन बुँदे सहमति भएको थियो ।

सहमतिको तीन नम्बर बुँदामा ‘नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ’ उल्लेख छ ।

गिरफ्तारीमा परेका कोइरालाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल इलाममा असोज १५ गते गरिएको छ ।


बविता मैनाली