धनुकटामा स्थगित मतदान जेठ २ गते, उदयपुरमा मतदान अधिकृतद्वारा राजीनामा

  ०७९ जेठ १ गते

धनकुटा प्रतिनिधि इश्वर थापाका अनुसार सहीदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालय र वडा–६ वडा कार्यालय मतदान स्थलका तीन ओटै केन्द्रमा स्थगित मतदान जेठ २ गते गर्ने निर्णय गरिएको छ।

वैशाख ३० गते मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिविच विवाद हुँदा सहिदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी मावि र ६ नं वडा कार्यालय मतदान स्थलका तीन ओटै केन्द्रको मतदान प्रक्रिया स्थगित थियो ।

मतदान प्रक्रियाको विषयमा दुवै पक्षवीच भएको विवादले केही समयको लागि मतदान कार्य स्थगित गरिएको भएपनि समस्याका विषयमा तत्काल समाधान हुन नसकेपछि जेठ २ गते मतदान गर्ने निर्णय गरिएको जिल्ला निर्वाचन अधिकृत जयराम श्रेष्ठले बताउनु भयो ।

एमालेका वडाअध्यक्ष पदका उम्मेदवार हेमकुमार राईले हातपात गरेपछि गठबन्धनका रामप्रसाद राई र गणेश राईलाई हातपात गरेपछि विवाद भएको थियो ।

मतदानस्थलमा अशक्त मानिसको मत एक जनाले मात्र हाल्ने भनिएता पनि एक जनाले चार जना अशक्तको मत लगाएपछि विवाद भएको थियो ।

अशक्तको मत हाल्ने क्रममा भएको विवादले मतदान स्थगित भएपछि जेठ २ गते मतदान गर्ने निर्णय गरिएको अधिकृत श्रेष्ठले बताउनु भयो ।

धनकुटाका डिएसपी चिरञ्जीवी जेठ २ गतेको निर्वाचनका लागि पाँच जना कर्मचारीसहित सुरक्षाकर्मी जेठ १ गते मतदान केन्द्रमा पुगेको बताउनु भएको छ ।

चौविसे गाउँपालिका–२ का नवनिर्वाचित वडा सदस्यको मृत्यु भएको छ । वैशाख ३१ गते आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका–२ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै अचेत भएर ढलेको र उपचारका लागि नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । मगर नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी हुनु भएको थियो ।

उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुसार उदयपुरमा मुख्य निर्बाचन अधिकृतद्धारा राजीनामा मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्यमा समस्या आएको भन्दै वैशाख ३१ गते निर्वाचन आयोगलाई राजीनामा लेखि पठाएपछि त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी आधारभूत विद्यालय पुरानो गाइघाटको चुनावी प्रक्रियामा अन्यौलता बढेको छ ।

मुख्य निर्वाचन अधिकृत खनाल वैशाख ३१ गते काम गरीरहेको अवस्थामा कार्यालयमा स्वास्थ्य समस्याका कारण काममा खटिन नसक्ने भएपछि मुख्य निर्वाचन अधिकृतले आयोगलाई राजीनामा लेखि पठाएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले बताउनु भयो ।

चुनावी प्रक्रियामा देखिएको कठिनाइका कारण खनालले राजीनामा दिएको आरोप स्थानीयको छ । वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा जनप्रेमी आधारभूत विद्यालयमा दिउँसो ३ः३० देखि पानी परेपछि रोकिएको मतदान सुचारू हुन सकेको थिएन ।

जसका कारण खसेको मतलाई नै गणना गर्ने कि पुन मतदान गर्ने भन्ने कुरामा दलहरूबिच ३१ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको छलफलमा सहमति हुन सकेको थिएन ।

मतगणना गर्ने कि पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय दिन ढिलाई गर्दा जिल्लामा मुख्य निर्वाचन अधिकृतलाई निर्णय लिन दबाब बढ्दै गएको छ ।

स्थगित भएको मतदानका विषयमा आयोगको निर्णयको प्रतिक्षामा रहेको सहायक मतदान अधिकृत दिलिप मगरले बताउनु भएको छ ।


इन्सेक प्रदेश १, कार्यालय विराटनगर