धनकुटा पातालडाँडामा खानेपानीको चरम अभाव (फोटो फिचर)

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई व्याख्या एवम् व्यवस्था गरिएको छ ।

सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनि उल्लेख गरिएको छ ।

तर, जिल्लाको सहिदभूमि गाउँपालिकाको पातालडाँडा आसपासका स्थानीयहरू भने वर्षौदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।

सहिदभूमि गाँउपालिका–३ पातालडाँडाकी ४५ वर्षीया रोमादेवी राईलाई दैनिक २ सय लिटर पानी चाहिन्छ । त्यो पानी ओसार्न उहाँलाई एक घण्टा टाढाको कुवाबाट पाँच पटक बोक्नुपर्छ ।

हिउँद लागेसँगै उहाँको दैनिक पाँच घण्टा पानी ओसारेरै बित्ने गरेको छ । त्यसो त उहाँको घरैमाथि डाँडामा २० हजार लिटरको खानेपानीको लागि र २० लाख लिटरको अन्य प्रयोजनको लागि पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण भएका छन् ।

तर हिउँद लागेसँगै दुवैमा ट्याङ्कीमा पानी रित्तिएपछि उहाँको दैनिकीको अधिकांश समय पानी सङ्कलनमै बित्ने गरेको छ । यो समस्या रोमादेवीको मात्र नभएर सहिदभूमि गाँउपालिका–२ र ३ पातालडाँडाका १ सय ५० घरपरिवारको हो । स्थानीयको दैनिक आधा भन्दा बढी समय पानीको जोहो मैँ बित्ने गरेको छ ।

जिल्लामै सहिदभूमि गाँउपालिकामा रहेको पातालडाँडालाई पानी सङ्कट क्षेत्रका रूपमा लिने गरिएको छ । वर्खाको पानी सङ्ग्रह गरिएको ट्याङ्की समेत रित्तिएपछि स्थानीयले अहिले खानका लागि मात्र हैन घरधन्दा र गाईवस्तुलाई खुवाउन समेत धेरै टाढाका मुल प्रयोग गर्नुपर्ने अवस्थामा छन् ।

पानी व्यवस्थापनको लागि पातालडाँडामा दुई ओटा ट्याङ्की निर्माण खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले ०७० सालमा बनाइएको हो ।

तर दुई ओटै ट्याङ्की अहिले सुख्खा र रित्ता छन् । खानेपानी प्रयोजनको लागि निर्माण गरिएको ट्याङ्कीमा २ किलोमिटर टाढाबाट पानी ल्याएर खाने व्यवस्था मिलाइएको थियो ।

दुई महिनायता मुल सुकेसँगै गाँउमा खानेपानीको हाहाकार भएको सहिदभूमि गाँउपालिका–३ पातालडाँडाका ६० वर्षीय नारायण श्रेष्ठले बताउनु भयो ।

मुल सुकेपछि दुई महिनायता गाउँको धारोमा पानी आएको छैन । अन्य प्रयोजनको लागि जम्मा गरिएको २० लाख लिटर पानी समेत सकिएपछि गाईवस्तुलाई खुवाउन, घरधन्दा गर्न पानी कुवाबाट ओसार्नु पर्ने अवस्था आएको सहिदभूमि गाउँपालिका–३ पातालडाँडाका ४२ वर्षीय हरि विष्टले बताउनु भयो ।

पातालडाँडा क्षेत्रमा पानीको समस्या नयाँ भने हैन । डाँडामा रहेको यो वस्तीमा पानीको समस्या चरम रूपमा छ । पानीका मुल नभएर समग्र गाउँपालिका भरिनै खानेपानीको समस्या रहेको गाउँपालिकाले जनाएको छ ।

खानेपानीको लागि पहल गरिरहेपनि पुरा नहुँदा समस्या बढेको गाउँपालिका अध्यक्ष मनोज राईले बताउनु भयो । पानीको मुल घट्दै गएपछि प्राय सहिदभूमि गाँउपालिका–३ पातालडाँडाका स्थानीय घण्टौँ लगाएर कुवाबाट पानी ओसार्न बाध्य छन् । पानी अभावकै कारण यो क्षेत्रका अधिकांश जग्गाजमिन बाँझा बनेका छन् ।

Photo 2023428 (1)

Photo 2023428 (2)

Photo 2023428 (3)

Photo 2023428 (4)

Photo 2023428 1 (1)

Photo 2023428 1 (2)

Photo 2023428 1 (3)

Photo 2023428 1 (4)

Photo 2023428 2 (2)

Photo 2023428 3


ईश्वर थापा