धनकुटाको महाभारत क्षेत्रमा खानेपानीको अभाव

संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हक हुनेछ भनी उल्लेख गरिएको छ ।

तर, धनकुटाको साँगुरीगढी गाउँपालिका अधिकाशं वस्तीका स्थानीयले मौलिक हकमा उल्लेख भए जस्तो आफ्नो अधिकार उपभोग गर्न पाएका छैनन् ।

साँगुरीगढी गाउँपालिका-७ महाभारतमा खानेपानीको अभाव भएको दशक भइसक्यो । महाभारतमा रहेका मुल सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको हो । गाउँमा खानेपानीका लागि एक घण्टादेखि तीन घण्टासम्मको पैदल यात्रामा जानु पर्ने बाध्यता स्थानीयको छ । महाभारतका वरिपरि प्रर्याप्त जमिन छ, तर, पानी अभावले मरूभूमिमा परिणत हुन थालेको छ ।

Photo 20240306 Dhankuta (5)

साँगुरीगढी गाउँपालिका-७ महाभारतकी १९ वर्षीया जुनु राईले खानेपानी जोहो कै कारण विद्यालय छाड्नु परेको बताउनु भयो । ०७८ सालमा कक्षा ९ मा पढ्दै गर्दा बिहान ५ बजे उठेर खानेपानीको जोहो गर्न डेढ घण्टा टाढा रहेको कुवामा पानी लिन जानुपरेको समस्या अहिलेसम्म रहेको जुनुले बताउनु भयो । उहाँले खानेपानीकै लागि दैनिक तीन घण्टा समय निकाल्नुपर्ने र विद्यालय जानुपर्ने समय धेरैजसो नभ्याइने भएकाले विद्यालय छोड्न बाध्य भएको बताउनु भयो ।

साँगुरीगढी गाउँपालिका-७ महाभारतकै पोखरेका ५६ वर्षीय महाप्रसाद राईले खानेपानी ओसार्दाओसार्दा कम्बरको मासुले थाहा नपाउने भइसकेको बताउनु भयो । उहाँले एक घण्टा टाढादेखि सोही वडाको भञ्ज्याङबाट परिवारले प्रयोग गर्ने र गाइवस्तुलाई खुवाउन पानी बोक्नु परेको गुनासो गर्नु भयो ।

महाप्रसादका अनुसार पानी अभाव कै कारण घर वरिपरिका करेसावारी बाँझै छन्, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ । आफूले पानीको जोहो गर्न नभ्याउँदा छोराछोरीलाई पानी लिन पठाएकै कारण धेरै पटक विद्यालय छुटाउनु परेको उहाँको गुनासो छ । महाप्रसादका अनुसार गाउँका विद्यार्थीलाई बिहान र बेलुका आफ्नो गृहकार्य भन्दा घरमा पानी छ, कि छैन ? भन्ने पिरलो चर्को हुने गरेको छ ।

आफूले थाहा पाएदेखि नै पानीको अभाव भोग्दै आउनु भएका ८१ वर्षीय रामभक्त राईले पटकपटक पानी आउँछ भन्ने सुनेको तर, समस्या समाधान नभएको बताउनु भयो । गाउँमा रहेका केही साना पानीका मुहान पनि सुकेका कारण गाउँको पुछारमा रहेको खोला पुगेर ल्याउनु परेको राईले बताउनु भयो । उहाँले बिहान ३ बजे उठेर पानी लिन गएपनि ५ बजे मात्रै पालो आउने गरेको बताउनु भयो । उहाँले खानेपानी समस्या कै कारण ८१ वर्षको उमेरमा पनि पानी बोक्न परिरहेको गुनासो गर्नुभयो ।

सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, जनप्रतिनिधिबाट महिला तथा बालबालिकालाई सरसफाईमा ध्यान दिनुपर्ने सन्देश आएको तर, खानेपानी नआएको रामभक्त राईले गुनासो गर्नुभयो ।

सङ्घीय खानेपानी आयोजनाले खानेपानी समाधान गर्न लगानी गरिरहेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनुभयो । केही काम अधुरो रहेकाले केही बजेट फेरि सङ्घीय खानेपानी आयोजनाले छुट्याएकोले पानीको अभाव समाधान हुने उहाँको भनाइ छ । लिफ्ट प्रणालीबाट खानेपानी आयोजना सञ्चालनको काम भइरहेको छ । करिब २ सय घरपरिवारलाई लक्षित गरी आयोजनाले काम गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

भौगोलिक अवस्थाका कारणले धेरै कम मात्रामा पानीको मुहान भएको र भएका मुहान पनि वस्ती भन्दा निकै तल रहेका कारणले साँगुरीगढी गाउँपालिका धेरै ठाउँमा खानेपानीको निकै समस्या रहेको अध्यक्ष जितेन्द्र रूम्दाली राईको भनाइ छ । १० ओटा वडा रहेको गाउँपालिकाका हरेक वडाको माथिल्लो भेगमा खानेपानीको समस्या रहेको र ती ठाउँमा खानेपानी समस्या समाधानका लागि लिफ्टिङ्ग आयोजना बाहेक अन्य विकल्प नभएको उहाँले बताउनु भयो । त्यसका लागि गाउँपालिकाको बजेटले समाधान नहुने उहाँको भनाइ छ ।

तर, हालका दिनमा साँगुरीगढी गाउँपालिका-६ को भेडेटार र नाम्जे, वडा ५ को डाँडाबजार र वडा-४ फाक्सिव लिफ्टिङ आयोजना सञ्चालनमा छ ।

महाभारत क्षेत्रमा यही वर्ष भित्रमा पानीको लिफ्टिङ सञ्चालनको तयारीमा रहेको र वडा-८, ९ र १० मा योजना अधुरो रहेकाले पूरा गर्न पहल गरिरहेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रूम्दाली राईको भनाइ छ ।

Photo 20240306 Dhankuta (1)

Photo 20240306 Dhankuta (2)

Photo 20240306 Dhankuta (3)

Photo 20240306 Dhankuta (4)

Photo 20240306 Dhankuta (6)


ईश्वर थापा