द्वन्द्वमा मुत्यु भएका खनालको काजक्रिया २० वर्षपछि !

  ०७८ माघ १२ गते

सशस्त्र द्वन्द्वमा मृत्यु भएका शहीद लखन गाउँपालिका–४ ताक्लुङका श्रीराम खनालको २० वर्षपछि माघ १० गतेबाट काजक्रिया सुरू गरिएको छ ।

तत्कालिन नेकपा माओवादीको बैठकमा भाग लिन जाँदा ०५८ माघ २२ गते २६ वर्षीय खनालको तनहुँको छाङमा सुरक्षा फौजसँगको जम्काभेटमा सेनाले हानेको गाली लागि मृत्यु भएको थियो ।

हिन्दु धार्मिक परम्परा अनुसार माघ १० गतेबाट चितवन रत्ननगर–१३ जयमङ्गलामा काजक्रिया सुरू गरिएको भाइ हरिशचन्द्र खनालले बताउनु भयो ।

‘त्यो बेला शव हेर्न जाने परिस्थिति पनि थिएन । मरेको खबर पनि तीन दिनपछि थाहा पायौँ ।’–उहाँले भन्नुभयो–‘आमा पनि ८४ वर्ष पुग्नुभयो । छोराको काजक्रिया भएन भनेर पिरलो गरिरहनुहन्छ । ढिलै भएपनि काजक्रिया थालेका छौँ ।’

माघ १० गते तनहुँ देवघाटमा मृतकको प्रतिमा बनाएर दाहसंस्कार लगायतका काम गरिएको उहाँले बताउनु भयो । माइलो दाइ इश्वरीप्रसाद खनाल १३ दिने काजक्रियामा बस्नु भएको छ ।

‘१३ दिनसम्म सबै काम हिन्दु परम्पराअनसार नै गछौँ ।’–हरिशचन्द्रले भन्नुभयो । द्वन्द्वका बेला काजक्रिया गर्ने परिस्थिति नै बन्न नपाएको उहाँको भनाइ छ ।

‘गोरखाको घरमा सुरक्षाकर्मीले निगरानी गरिरहन्थे । त्यतिबेला काजक्रिया गर्नु त के आफन्त पर्छ भन्ने अवस्था पनि थिएन ।’–उहाँले भन्नु भयो ।

२०३२ भादौ २ गते जन्मिएका मृतक खनाल गोरखा क्याम्पस अध्ययनको क्रममा २०५३ सालदेखि भुमिगत भएका थिए । खनाल तत्कालिन माओवादीको तनहुँ जिल्ला कमिटी सदस्य थिए ।


हरिराम उप्रेती