द्वन्द्वपीडितहरूले भने-'हामीलाई आत्मसम्मान देऊ !'

दाङका द्वन्द्वपीडितहरूले राज्यलाई आत्मसम्मानको वातावरण बनाइदिन माग गरेका छन् । शहीद दिवस तथा शान्ति सम्झौताको १० वर्षपुगेको अवसरमा स्थानीय शान्ति समिति दाङले माघ १६ गते घोराही नगरपालिका-३ बर्गद्दीमा आयोजना गरेको द्वन्द्वपीडित परिवारसँगको भेटघाटमा उनीहरूले आत्मसम्मानको वातावरण निर्माणकालागि राज्यलाई आग्रह गरेका हुन् ।

प्रमुख जिल्ला अधिकार, नगरपालिकाका कार्यकारी अधिकृत, जिविसका प्रतिनिधी, शान्ति समितिका पदाधिकारी, मानव अधिकारकर्मी तथा पत्रकारसहितको टोली गाउँघरमै पुगेर पीडितहरूलाई फूलमालाले सम्मान गरेका थिए । आफन्त मारिएको वर्षौँ बितिसक्दा पनि न्याय पाउन नसकिएको भन्दै पीडित परिवारले फूलमालाले सम्मान गर्नुभन्दा आत्मसम्मान हुने खालको काम गर्न टोलीलाई सुझाव दिएका थिए । 'फूलमालाले सम्मान गर्दा पीडा बल्झिन्छ, थप पीडाबोध गराउँछ ।'-वर्गद्दीकी द्वन्द्वपीडित द्रौपता न्यौपानेले भनिन्-'हामीलाई पिडा थप्नु भन्दा आत्मसम्मान हुने काम गर्नुस् ।' द्वन्द्वपीडितहरूले आत्मसम्मानकालागि द्वन्द्वका क्रममा मारिएकाहरूको नाममा स्मारक निर्माण गर्नुपर्ने माग गरे ।

राज्यले घोषणा गरेअनुसारको राहत नदिएको भन्दै द्वन्द्वपीडितहरूले आफ्ना नाममा आउने राहत पनि खुशी मन र व्यवहारले नदिएको गुनासो गरे । कतिपयले राहत उपलव्ध गराएबापत आधा रकम मागेको समेत बताए । 'राहत पनि पुरा पाइएन । सेवाप्रदायक निकायमा समेत भेदभाव सहनुपर्छ ।'-वर्गद्दीका पीडितहरूले भने-'११ जना र्सवसाधारणको कत्लेआम गरिएकै ठाउँमा स्मारक बनाउन पाए आत्मसम्मानको महसुस हुने थियो ।' सो अवसरमा द्वन्द्वपीडितहरूले सत्यनिरूपण तथा मेलमिलाप आयोगमा दिइएको उजुरीमाथि काराही गरिनुपर्ने, परिचय पत्रको व्यवस्था गरिनुपर्ने, योग्यताका आधारमा रोजगारीको व्यवस्था गरिनुपर्ने लगायतका माग गरे ।

पीडितहरूका समस्या सुनेपछि दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले द्वन्द्वपीडितहरूको समस्या समाधानमा स्थानीयस्तरबाट हुने काम गर्न आफू तयार रहेको बताए ।


जे.एन.सागर