द्वन्द्वपीडितको हात रित्तै, राहत रकम भने फिर्ता

सशस्त्र द्वन्द्वका पीडितहरूलाई आएको रकममध्ये १ करोड रुपियाँ फिर्ता भएको छ । विगतमा राहत पाएकाहरूलाई थप गर्ने गरी आएको रकम असार मसान्त भित्र वितरण नगरिएकाले फिर्ता भएको हो ।

मृतक तथा बेपत्ता परिवारका लागि आएको ६ करोड ७७ लाख रुपियाँमध्ये जिल्ला प्रशासन कार्यालयले ५ करोड ७७ लाख रुपियाँ मात्र वितरण गरेको छ । यस्तै विस्थापितका लागि शान्तिमन्त्रालयबाट आएको १ करोड ३२ लाख ५ हजार रुपियाँमध्ये २४ लाख ७९ हजार ६ सय रुपियाँ मात्र वितरण भएको कार्यालयका लेखापाल राजु चौधरीले बताए ।

माङसेबुङ गाउँपालिका-२ का जीतबहादुर तामाङले सशस्त्र द्वन्द्वका समयमा आफ्नो छोरो दिलबहादुर तामाङको हत्या भएको र अहिलेसम्म एक रुपियाँ पनि राहत नपाएको भन्दै साउन ८ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

इन्सेकको अभिलेखमा इभाङ गाविस-३ तामाङ टोलका १८ वर्षीय दिलबहादुर तामाङलाई माओवादीको आरोपमा ०६० भदौ ५ गते साकापारा गाविस-९ मा सुरक्षाकर्मीसँग जम्काभेट हुँदा सुरक्षाकर्मीले गोली हानी हत्या गरेको उल्लेख छ ।

त्यसैगरी फाकफोकका टेकबहादुर राई, इलाम नगरपालिकाकी तेजमाया गुरूङ र नयाँ बजारकी सीतादेवी पौडेलले पनि थप राहत पाउनका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

द्वन्द्वका समयमा ०६२ सालमा मारिएका साविक दानाबारी-२ का गम्भीरबहादुर एक्तेनको परिवारले पनि अहिलेसम्म राज्यका तर्फबाट प्रदान गरिने कुनै पनि राहत पाउन नसकेको गुनासो गरेको छ ।

विगतमा राहत पाएकाहरूले समयमा सूचना नपाउँदा थप राहत बुझ्न समस्या भएको द्वन्द्वपीडित समाज इलामका संयोजक दामोदर चापागाईंले बताए ।

जिल्ला प्रशासन कार्यालयका लेखापाल चौधरी पनि असारको दोस्रो साता पछिमात्र केन्द्रबाट रकम आएको र सबैलाई पूर्ण सूचना नपुगेकाले सबै रकम वितरण हुन नसकेको बताउँछन् । 'रेडियो, पत्रपत्रिकाबाट सूचना गरेका थियौं । समय छोटो भएकाले समय भित्र पीडितहरू आउन नसकेको पनि हुन सक्छ ।'-चौधरीले भने ।


कोकिला ढकाल