द्वन्द्वपीडितको न्यायप्राप्तिको हक सुनिश्चित गरः आयोग

  ०७७ पुस २१ गते

द्वन्द्वपीडितको न्यायप्राप्तिको हक सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोग बगमती प्रदेश कार्यालयले सरकारको ध्यानाकर्षण गराएको छ ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राखी पछिल्लो पटक २०७७ पुस ६ गतेदेखि वीर अस्पताल ट्रमा सेन्टरमा आमरण अनशनमा रहनु भएकी गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयले अनुगमन गरेको छ ।

आयोगका बागमती प्रदेश कार्यालयका प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीद्वारा पुस २० गते जारी प्रेस विज्ञप्तिमा अनुगमनको क्रममा निजको स्वास्थ्य अवस्था कमजोर र गम्भीर बन्दै गएको पाइएको जनाइएको छ ।

विज्ञप्तिमा उक्त घटनाको अनुसन्धान गरी दोषीउपर फौज्दारी अभियोगमा कारबाही चलाउन तथा पीडित परिवारजनलाई क्षतिपूर्ति उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोगले २०६४ चैत २३ गते नेपाल सरकारलाई सिफारिस गरेको स्मरण गराइएकोछ ।

लामो समयदेखि किनारा नलागेको कृष्णप्रसाद अधिकारीको हत्या प्रकरण जस्ता सशस्त्र द्वन्दकालीन मानव अधिकार हननका घटनाको सम्बन्धमा यथाशक्य छिटो छिनोफानो गर्न आवश्यक रहेको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै विज्ञप्तिमा यस सम्बन्धमा आयोगको बागमती प्रदेश कार्यालयले उहाँको जीवनरक्षाको लागि आवश्यक व्यवस्था र समन्वय गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार समेत गरेको जनाइएको छ ।

अतः निज गङ्गामाया अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवन रक्षाको लागि तत्काल प्रभावकारी कदम चाल्न तथा यसअघि सरकारले गरेका प्रतिबद्धताहरूसमेत पालना गर्न विज्ञप्तिमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।


दीपकप्रसाद घिमिरे