द्वन्द्वपीडितका कथाः बुढेसकालमा होटल व्यवसाय

कनकासुन्दरी गाउँपालिका-१ की ३९ वर्षीया कोइली बुढाको दैनिकी होटलमा आउने ग्राहकहरूको सेवा गर्दै बित्ने गरेको छ । राम्रो सेवा गरेर ग्राहकहरूको मन जित्न सफल भएपछि उनले गाउँमै सञ्चालन गरेको होटल पनि राम्रोसँग चलेको छ ।

कोइँलीले होटलमा सामान्य खाना, नास्ता मात्र पकाउँछिन्, भने उनका पतिले सबै काममा सघाउँछन् । जुम्लाको डाँफे लेकहुँदै मुगु रारा जाने पर्यटकदेखि बटुवासम्म उनकै होटलमा बास बस्छन् ।

द्वन्द्वकालमा विद्रोही पक्षबाट विस्थापित बनेको उनको परिवार अहिले गाउँमै खोलेको होटलबाट स्थापित भएको छ । २०५६ मा तत्कालीन विद्रोही पक्षले घरमा पालेका भेडा लुटेर खाइदिएपछि बाँकी रहेका २६ भेडा १ हजार ३ सय ८४ रुपियाँ का दरले ३६ हजार रुपियाँमा बेचेर गाउँ छाडेपछि उनको परिवार विस्थापित भएको थियो ।

'द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्षले दिनुसम्म दुःख दिए । घरको सबै अन्नपात लुटेर हामीलाई जबरजस्ती माओवादी पनि बनाए । तर, हामी भागेर सुर्खेतका टोलटोलमा लुकेर विस्थापित भइ बसेका थियौँ ।'-उनले भनिन्-'२०५६ सालबाट ०६३ सम्म करिब ७ वर्षविस्थापित भइबस्दा ज्यान जोगाउनै मुस्किल भयो । पैसा कमाउन सकिएन । द्वन्द्वको पिडा अहिले भोग्दैछौँ । उमेरमा विस्थापित भइबस्दा बस्दै दिन बिते । बुढेसकालमा होटल सचालन गरेर दुःख गर्नु परिरहेको छ ।'

उनका अनुसार राज्य पक्षलाई सहयोग गरेको आरोपमा तत्कालीन विद्रोही पक्षले दैनिक धम्की दिने, मनोमानी चन्दा माग्ने, पशुपंक्षी लुट्ने बलात्कार गर्न खोज्ने जस्ता क्रियाकलाप गर्ने गरेका थिए ।

'श्रीमान र मलाई धेरै पटक कुटपिट गरे । ६ महिना र डेढ वर्षका छोरालाई काखि च्यापेर रातारात भागेर सुर्खेत गएर बस्यौँ । त्यहाँ पनि हामीलाई खोजेछन् । तर, भेटाएनन् । भेटाएको भए सायद हामीलाई मार्थे होला ।'-उनले भनिन्-'कतिपय हामीलाई दुःख दिने 'अपराधी' द्वन्द्वमा मरेछन् भने कतिपय दुःख दिने 'अपराधी' अहिलेपनि आँखा अगाडि हिँडिरहेका छन् । तरपनि केही गर्न सकिएको छैन । अब मसँग प्रमाण पनि छैन ।'

'हामी भागेपछि गाउँको घरपनि भत्काई दिएछन् । देशमा शान्ति हुँदा बल्ल घर फर्किएपछि घरमा भएको सानोतिनो खेतियोग्य जमीन पनि दाइभाइले बाँडेर खाएछन् । बचेको जग्गा रूखविरुवा उम्रेर बाँझै छ ।-उनका ४५ वर्षीय पति देविलाल बुढाले भने-'घरको आर्थिक अवस्था नाजुक छ । खेतियोग्य जमीन छैन । तीन जना छोरालाई पढाउनुपर्छ । त्यसैले होटलको विकल्प पनि छैन ।'

अहिले उनको परिवारले होटल व्यवसायबाट मासिक ३० हजार रुपियाँभन्दा बढी रकम बचत गर्दै आएको छ । उनको परिवारले विस्थापित भएको ७ वर्षपछि घर फर्कदाँ सुरूमा घरखर्च चलाउन कसैसँग खानेकुरा त कसैसँग भाँडाकुडाँको जोहो गरेको थियो ।

यसरी द्वन्द्वमा विस्थापित भएको उनको परिवारले अहिलेसम्म कुनै पनि निकायबाट राहत नपाएको गुनासो गरेका छन् । उनले भने-'राहतका लागि कहाँ के गर्नुपर्छ ? हामीलाई थाहा छैन । जानेबुझेकाले पनि बताउँदैनन् ।' शान्ति समितिको कार्यालय जुम्लामा अहिलेसम्म उनको परिवार द्वन्द्वमा विस्थापित भएको भन्ने कुनै उजुरी नै नपरेको सो कार्यालयले जनाएको छ ।


मानदत्त रावल