द्वन्द्वकालिन यौनहिंसाका पीडितहरूले न्याय पाएनन्

द्वन्द्वकालिन यौनहिंसाका पीडितहरूले न्याय नपाएको बताइएको छ । बुटवल उमनपा, इन्सेक, युएन ओमन, द स्टोरी किचन, गैसस महासङ्घ, मेचीकाली दैनिकलगायतका सङ्घसंस्थाहरूको सहकार्यमा बुटवलमा आयोजित ‘तोडौ मौनताः अन्त्य गरौँ दण्डहीनता’ भन्ने मुल नारासहित १० वर्षे सशस्त्र द्वन्द्वकालिन यौनजन्य हिंसा पीडित तथा प्रभावित महिलाका लागि सत्य, न्याय परिपुरण र आत्म सम्मान विषयक डिजिटल कथा कथन, चित्रकला तथा नाट्य प्रस्तुती विषयक प्रदेशस्तरीय कार्यक्रममा प्रदेश सांसद कमला विश्वकर्माले उक्त कुरा बताएकी हुन् ।

विश्वकर्माले कार्यक्रममा सशस्त्र द्वन्द्वका बेला यौन हिंसामा परेका पीडितहरूको तथ्याङ्क नहुनु हामी सबैका लागि दुखद् विषय भएको बताइन् ।

उनले सशस्त्र द्वन्द्वमा प्रदेश ५ ले धेरै कुरा गुमाएको बताउँदै यसलाई समृद्ध बनाउने विषयमा पनि प्रदेश ५ बाटै सुरूवात गरिनुपर्ने बताइन् ।

प्रदेश ५ का आर्थिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सशस्त्र द्वन्द्व इतिहास रच्ने अवसर भएको बताउँदै द्वन्द्वबाट प्रभावितहरूका लागि राहत क्षतिपूर्ति, परिपूरण र घाइतेको उपचारका लागि प्रदेश सरकार गम्भीर भएर लागेको बताए ।

उनले द्वन्द्वका बेला हजारौँ जनताले सङ्घर्ष गरेको र आफू पनि त्यही धरातलबाट आएको बताए । मन्त्री केसीले द्वन्द्वकालिन घटनाका घाइतेहरूको उपचारका लागि प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निशुल्क औषधि उपचारको व्यवस्था गरेको बताए ।

प्रदेश सांसद रिना नेपालले सशस्त्र द्वन्द्वले समाजमा विभिन्न खालको पीडा दिएकोले त्यस्ता पीडामा मल्हम लगाउनका लागि सरकारले काम गरेकामा प्रशंशा गरिन् ।

सांसद दिपा बिकले द्वन्द्वको पीडा अझै पनि नसकिएको बताउँदै सशस्त्र द्वन्द्वमा यौन हिंसाबाट पीडित भएकाहरूले न्याय पाउनुपर्ने बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ की निर्देशक सम्झना शर्माले १० वर्षे सशस्त्र द्वन्द्वमा सयौँ जनाले ज्यान गुमाएको, अभिभावकविहीन भएका घटनाहरूको विषयमा धेरै कुरा बाहिर आयो तर यौनजन्य हिंसाका विषयमा तथ्याङ्कसम्म नभएको बताइन् । उनले पीडितले अनूभूति गर्ने खालको न्याय हुनुपर्ने  बताइन् ।

photo20190919rupandehi (1)

photo20190919rupandehi (2)

photo20190919rupandehi (3)

photo20190919rupandehi (4)

photo20190919rupandehi (5)

photo20190919rupandehi (6)

photo20190919rupandehi (7)


रीमा बिसी