द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै

  ०८१ मङ्सिर २० गते  

सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट शारीरिक तथा मानसिक यातना भोग्नु परेकोमा तिमध्ये १६ जनामा अहिलेसम्म नै मानसिक समस्या देखिएकाले नियमित औषधि सेवन गर्नु परेको पीडितहरुले बताएका छन् ।

द्वन्द्वकालिन यातना पीडित समाज तनहुँका अध्यक्ष विष्णुप्रसाद भट्टराईले १६ जना यातना पीडितहरुले नियमित रुपमा मानसिक समस्याको औषधि सेवन गरिरहनु परेको बताउनु भयो । राज्यपक्षबाट गम्भिर यातना भोग्नु भएका भट्टराईले हालसम्म नियमित रुपमा औषधि सेवन गर्नु परिरहेको बताउनु भयो ।

मानसिक समस्या रहेका यातना पीडितहरुको सहयोगको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको मनोविमर्श केन्द्रमा पीडितहरु गएर उपचार र औषधिको सिफारिस लिएपछि औषधि निःशुल्क पाइने भट्टराईले बताउनु भयो । तनहुँका सबै १६ जनाले उक्त मनोविमर्श केन्द्रबाट नियमित सेवा र औषधि लिइरहेको भट्टराईले जानकारी दिनु भयो ।

व्यास नगरपालिका–६ की यातना पीडित कमला मालले आफूले द्वन्द्वकालमा राज्यपक्षबाट चरम यातना पाएको भन्दै त्यसैको असर स्वरुप हालसम्म नियमित रुपमा शारीरिक र मानसिक समस्याको औषधि सेवन गरिरहनु परेको बताउनु भयो । यातनाको कारण आफ्नो शरीर छियाछिया भएको भन्दै उहाँले नियमति औषधि सेवन नगर्ने हो भने केही काम गर्न नै नसक्ने बताउनु भयो । उहाँले द्वन्द्वकालमा आफ्नो पति समेत गुमाउनु भएको छ ।

शान्ति प्रक्रिया सुरु भएको करिब १९ वर्ष भईसक्दा पनि अझैसम्म द्वन्द्वकालका यातना पीडितहरुले न्याय नपाएको शुक्लागन्डकी नपा-८ का यातना पीडित रामेश्वर भट्टराईले बताउनु भयो । उहाँले नियमित औषधि सेवन गर्नु पर्ने बिरामीहरुलाई राज्यले नियमित रुपमा आर्थिक सहायता गर्नुपर्ने बताउनु भयो ।

तनहुँमा संगठित भएका यातना पीडितहरुले जिल्लाभर हाल ३ ओटा स्वावलम्बन समूह गठन गरेका छन् । उक्त १० ओटा समूहमा ९० जना यातना पीडितहरु सदस्य छन् । उक्त छुट्टाछुट्टै समूहका सदस्यहरु आय आर्जनका काममा पनि संलग्न भएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

उक्त स्वाबलम्बन समूहले नियमिति बैठक गर्ने, पीडा साझा गर्ने तथा आफ्ना समस्याहरुको बारेमा स्थानीय सरकारसँग अन्तरक्रिया गर्ने लगायतको काम गर्दै आएको भट्टराईले बताउनु भयो ।


प्रकाशचन्द्र भट्टराई