द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न आफन्तजनको माग

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्याक्तिका परिवारका सदस्य तथा आफन्तजनले उनीहरूको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), नेपाल रेडक्रस सोसाइटी, र बेपत्ता परिवार समाज नेपालले सशस्त्र द्वन्द्वका बेला बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा भदौ १३ गते ललितपुरमा संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमका सहभागीहरूले यस्तो माग गरेका हुन् ।

शान्ति सम्झौता भएको १० वर्षबितिसक्दा पनि बेपत्ता व्यक्तिको अवस्था सार्वजनिक नहुनुले राज्य प्रतिको आफूहरूको विश्वास गुमिसकेको भन्दै पीडित परिवारका सदस्यले यथासक्य चाँडो अवस्था सार्वजनिक गर्न र परिपुरणको व्यवस्था गर्न पनि माग गरेका छन् ।

कार्यक्रममा आइसीआरसी नेपाल नियोग प्रमुख आन्द्रे पाकेले बेपता व्याक्तिका परिवारहरूको पीडामा ऐक्यवद्धता जनाउन कार्यक्रमको आयोजना गरिएको बताए । बेपत्ता पारिएका व्याक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले द्वन्द्वका बखत बेपत्ता पारिएका सन्दर्भमा न्यायको माग गर्दै आयोगमा २ हजार ८ सय ४६ ओटा उजुरी परेको बताए ।

उनले २ हजार ८ सय ४६ ओटा उजुरी परेको भएपनि अहिलेसम्म २ हजार ८ सय ७० जना बेपत्ता भएको जानकारी प्राप्त भएको जनाउँदै सो घटनाको प्रारम्भिक छानबिन भइरहेको र दशैँ अघि छानबिन कार्य सम्पन्न गरीसक्ने लक्ष्य रहेको बताए ।

यसैगरी बेपत्ता परिवार समाज नेपालका अध्यक्ष रामकुमार भण्डारीले तत्कालीन राज्य र विद्रोही जुनसुकै पक्षबाट बेपत्ता पारिएको भए पनि उनीहरूका परिवारको पीडा समान रहेको बताए । उनले पीडा समान भएपनि विभेदपूर्ण व्यावहार गरिएको तथा परिपुरणको नीति बने पनि कार्यन्वयन हुन नसकेको भन्दै असन्तुष्टी जनाए ।

कार्यक्रममा 'अन्तिम बिदाई' नामक वृतचित्र प्रदर्शन गरिएको थियो । वृतचित्रमा युद्धका बेला बेपत्ता पारिएकी आफ्नी छोरी अन्तिम पटक देखिएको स्थान सम्मको यात्रा तय गरेकी एक आमाको कथाका साथै बेपत्ता परिवारको पीडालाई भावनात्मक ढङ्गले उतारिएको छ । सो अवसरमा 'बेपत्ताका सम्झनामा' नामक तस्वीर पुस्तिकासमेत सार्वजनिक गरिएको थियो ।


रामकुमारी श्रेष्ठ