द्वन्दपीडितलाई नौ करोड नब्बेलाख राहत वितरण

सशस्त्र द्वन्दको क्रममा मारिएका वेपत्ता पारिएका र अपहरणमा परेका परिवारलाई नौ करोड ८९ लाख ७५ हजार राहत वितरण गरिएको स्थानीय शान्ति समिति सुर्खेतले जनाएको छ । समितिका अनुसार शान्ति तथा पुन निर्माण मन्त्रालयबाट प्राप्त रकमद्धारा ०७४ असार मसान्तसम्ममा २ सय ४० मृतक र १३ जना बेपत्ता पारिएका परिवार तथा ११ जना अपहरणमा परेका पीडितलाई सो राहत रकम वितरण गरिएको हो ।

एकसय ८३ जना मृतकका परिवारलाई जनही एकमुष्ठ पाँच लाख, ५५ जना सुरक्षाकर्मीका परिवारलाई डेढलाख, दुईजना सुरक्षाकर्मीका परिवारलाई दुइलाख, बेपत्ता पारिएका १३ जनालाई एकमुष्ठ पाँचलाख र  अपहरणमा परेका ११ जनालाई २५ हजारको दरले सो राहत रकम वितरण गरिएको समितिका संयोजक मोहन थापाले बताए ।

यस्तै सशस्त्र द्वन्दका कारण विस्थापित भएका जिल्लाका पाँचसय २७ परिवारलाई २५ हजारको दरले राहत वितरण गरिने तयारी भैरहेको जानकारी पनि संयोजक थापाले दिए । सशस्त्र द्वन्दकैक्रममा राहत लिईसकेको विस्थापितहरूको हकमा २५ हजारबाट यसअघि लिएको रकम कट्टा गरी राहत रकम उपलब्ध गराईनेछ ।


दुर्गा थापा