दोस्रो चरणको स्थानीय तहको निर्वाचन अनुगमन सम्पन्न

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको दिन, असार १४ गते बुधबार, राष्ट्रिय मानव अधिकार आयोगले मतदान प्रक्रियाको अनुगमन गरेको जनाएको छ ।

स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि आयोगका सदस्यसहितको तीन ओटा उच्चस्तरीय अनुगमन टोली एवम् सचिवलगायत कर्मचारीहरू सम्मिलित ३५ ओटा जिल्लामा ३६ ओटा अनुगमन टोली खटिएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अनुगमनको क्रममा प्राप्त जानकारी अनुसार रोल्पा जिल्लाको रोल्पा नगरपालिकास्थित मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको तथा बझाङ, बाजुरा, अछाम, प्यूठानलगायतका जिल्लामा राजनीतिक दलका कार्यकताबिच सामान्य झडप हुँदा केही समय मतदान स्थगित भएपनि पुनः मतदान सुचारू भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी कञ्चनपुर, दाङ, बैतडी, बाजुरा, इलाम लगायतका जिल्लामा बम फेला परको तथा बम विष्फोट भएपनि कुनै मानवीय क्षति नभएको र मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको पाइएको छ ।

'समग्रमा मतदान प्रक्रिया अत्यन्त उत्साहपूर्ण तथा शान्तिपूर्ण रूपले सम्पन्न भएको छ । ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, अपाङ्गता भएका व्यक्तिहरूको उल्लेख्य सहभागिताका साथै धेरै मतदाताहरू झरी तथा बाढीको सामना गरेरै भएपनि मत खसाल्न मतदान केन्द्रमा पुगेको पाइएको छ । कतिपय मतदान स्थलहरूमा खानेपानी, शौचालयको व्यवस्था नभएको, ज्येष्ठ नागरिकहरूलाई सहजरुपमा मतदान गर्न सक्ने व्यवस्था भएको पाइएन ।'-विज्ञप्तिमा भनिएको छ ।

आयोगले अनुगमनको क्रममा केही स्थानमा सुरक्षाकर्मीको व्यवहार मानव अधिकार मैत्री नभएको, यसबाहेक मतदानमा महिलाहरूको सहभागिता उल्लेख्य रहेको जनाएको छ ।

सुरक्षाको दृष्टिले अति सम्वेदनशील रहेका भनिएका तराइका सुनसरी, मोरङ, नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके, लगायतका जिल्लाहरूमा पनि उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।


अनलाइन डेस्क