दोस्रो चरणको नतिजा अन्तिममा, भरतपुर १९ बारे अन्यौल कायमै

असार १४ गते सम्पन्न दोस्रो चरणको चुनावको नतिजा आउन अब आधादर्जन जति मात्र स्थानीय तह बाँकी छन् । तर, वैशाख ३१ गते भएको पहिलो चरणकै चुनावको हालसम्म नतिजा आउन सकेको छैन । चर्चामा रहेको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ बारे सर्वोच्च अदालतमा मुद्दा विचाराधिन नै छ । यस मुद्दाको विषयमा असार २३ गते पनि केही टुङ्गो लगाइएन ।

पुनः गणना वा पुनः मतदान भन्ने बारे टुङ्गो नलाग्दा मतदाता, उम्मेदवार, राजीतिकदल र नागरिक समाज अन्यौलको भूमरीमा परेका छन् ।

पहिलो चरणको निर्वाचन कार्यक्रम अनुसार भरतपुरमा वैशाख ३१ मा मतदान भएको थियो । जेठ १ गतेबाट मतगणना सुरू भइ जेठ २ गते साँझबाट परिणाम आउन थाल्यो । वडा नम्बर १९ को मत गनेर सकिने बेलामा मतपत्र च्यातिएपछि जेठ १४ को मध्यरातबाट सुरू भएको भरतपुरको अन्योल अहिलेसम्म कायमै छ । अदालतमा निवेदन दर्ता गरेको एक महिना पुगेको छ ।

कुल २ हजार ८ सय १८ मत खसेको भरतपुरको १९ नम्बर वडामा १ हजार ८ सय मत गनेर सकिएको थियो । मतपत्र च्यातिएको पाँच दिन बितेपछि निर्वाचन आयोगले जेठ २० मा भरतपुर १९ मा फेरि मतदान गराउने निर्णय गरेको थियो ।

आयोगको सो निर्णय विरूद्ध नेकपा (एमाले) सम्बद्ध उम्मेदवारले जेठ २१ मा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । निवेदन दर्ता भएको भोलिपल्टै सर्वोच्च अदालतले आयोगको निर्णय तत्काललाई कार्यान्वयन नगराउन आदेश गरेको थियो ।

सुनुवाइ असार २६ गते सोमबारलाई सर्यो

भरतपुर महानगरपालिका-१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ फेरि २६ गते सोमबारका लागि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा सुनुवाइ सुरू भए पनि असार २३ गते शुक्रबार नभ्याउने भएपछि सुनुवाइ सोमबारका लागि सारिएको बताइएको छ ।

यो विवादमा यसअघि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो । निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णय विरूद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नं १९ का नेकपा एमाले उम्मेदवार गुञ्जमान बिकले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

२० नम्बर पनि बाकसभित्रै

भरतपुर महानगरका कुल २९ वडा मध्ये २७ ओटा वडाको वडाध्यक्ष र सदस्य पदको टुङ्गो लागिसकेको छ । भरतपुर १९ को मतपत्र च्यातिएपछि यस वडाको गणना स्थगित भएको थियो । गणना गर्न बाँकी २० नम्बर वडाको मत पनि बाकस भित्रै छ । १९ नम्बर वडाबारे सर्वोच्चमा मुद्दा चलिरहे पनि २० नम्बर वडाको गणना हुनु पर्ने कतिपयको माग रहेको छ । मतगणना स्थल भरतपुर कभर्डहल भित्र बाकस सुरक्षित राखिएको छ ।

मत सुरक्षामा ७५ प्रहरी

कभर्डहल भित्र रहेको मत सुरक्षामा नेपाल प्रहरीतर्फ ५० र सशस्त्र प्रहरीतर्फ २५ जनाको दैनिक सुरक्षा व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक थापाले जानकारी दिए । यसअघि सुरक्षामा म्यादी प्रहरी पनि रहने गरेकोमा २० गतेबाट म्यादी प्रहरीको समयावधि सकिएपछि हाल प्रहरीले सुरक्षा पहरा दिइरहेको छ । गणनाको क्रममा च्यातिएका ९० मत सर्वोच्चमा लगिएको छ । च्यातिएका मतपत्रसहित अरू कागजपत्र सर्वोच्चमा यही असार १३ गते पुर्‍याइएको हो ।

वडाध्यक्षहरू निराश

निर्वाचित भएर पनि शपथ खान नपाएका यहाँका २७ जना वडाध्यक्षहरू निराश भएका छन् । महानगरको दुई ओटा वडाको टुङ्गो नलाग्दा उनीहरूले खुलेर र वैधानिक रूपमा वडावासीको काम गर्न पाइरहेका छैनन् ।

समस्या लिएर वडावासी आउन थाले पनि वडाध्यक्षको हैसियतले पूर्ण अधिकार प्रयोग गरी जनताको काम गर्न नसकिएको वडा नम्बर १० का वडाध्यक्ष अरूणपीडित भण्डारीले बताए । उनको साथमा न आफू निर्वाचित भएको प्रमाणपत्र परेको छ न जनप्रतिनिधिको हैसियतमा शपथ नै खाएका छन् ।


दिपेन्द्र अधिकारी