दोस्रो कार्यकालका लागि राष्ट्रपति भण्डारी पुनः निर्वाचित

सङ्घीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएकी छन् ।

अघिल्लो पटक र यसपटक पनि नेकपा (एमाले) को समर्थनमा उम्मेदवार बनेकी राष्ट्रपति भण्डारीलाई यसपटक वाम गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का साथै सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले पनि मत दिएका छन् ।

एमालेका तत्कालीन उपाध्यक्ष र संविधानसभाकी सदस्य रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उनलाई अघिल्लो कार्याकालका लागि सो पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

नेपालको संविधान जारी भएपछिको राष्ट्रपति निर्वाचनमा उनी व्यवस्थापिका संसद्बाट २०७२ कात्तिक ११ मा सो पदमा निर्वाचित भएकी थिइन् । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नेपाली काङ्ग्रेसका तर्फाट डा. रामवरण यादव निर्वाचित भइ कार्यकाल पूरा गरेका थिए ।

भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीकी प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी नेतृ कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मत प्राप्त गरेकी थिइन् । निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।

सङ्घीय संसद्का ३ सय ३१ मतदातामध्ये ३ सय २६ र प्रदेशसभाका ५ सय ४९ मतदातामध्ये ५ सय ३६ जनाले मतदान गरेका थिए । कूल मतदातामध्ये सङ्घीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित रहेका थिए ।

सङ्घीय संसद्का सदस्यको एक मतको भार ७९ कायम गरिएको थियो । त्यस आधारमा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यमध्ये भण्डारीको पक्षमा २ सय ४५ मत परेको थियो । त्यो भनेको १९ हजार ३ सय ५५ मतभार हो । उनकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले सङ्घीय संसद्का तर्फाट ७८ मत प्राप्त गरिन् । त्यो भनेको ६ हजार १ सय ६२ मतभार हो ।

यस्तै प्रदेशसभातर्फ भण्डारीको पक्षमा ४ सय १५ मत परेको थियो । प्रदेशसभाको एक मतको भार ४८ कायम गरिएको थियो । त्यस आधारमा राष्ट्रपति भण्डारीले १९ हजार ९ सय २० मतभार प्राप्त गरेकी हुन् । सङ्घीय संसद् र प्रदेश सभा सदस्यको कूल मतभार जोड्दा राष्ट्रपति पदका लागि भण्डारीले कूल ३९ हजार २ सय ७५ मतभार प्राप्त गरिन् । उक्त मतभार प्रतिस्पर्धी राईको भन्दा २७ हजार ४ सय ४५ बढी हो ।

प्रदेशसभा सदस्यका तर्फबाट कुमारीलक्ष्मी राईले १ सय १६ मत प्राप्त गरिन् । त्यो भनेको ५ हजार ५ सय ६८ मतभार हो । यस आधारमा राष्ट्रपतिका उम्मेदवार राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन् । राष्ट्रपति निर्वाचनका लागि कूल ५२ हजार ५ सय १ मतभार कायम गरिएको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार सेन्ट लग विधिका आधारमा मतभार कायम गरिएको हो । उक्त निर्वाचनको पर्यवेक्षण इन्सेकले गरेको थियो ।

फोटो: विमलचन्द्र शर्मा

 photo20180314kathmandu2 photo20180314kathmandu3 photo20180314kathmandu5 photo20180314kathmandu6

photo20180314kathmandu (3) photo20180314kathmandu (4) photo20180314kathmandu (22)photo20180314kathmandu7photo20180314kathmandu9photo20180314kathmandu4 photo20180314kathmandu8

photo20180314kathmandu (1) photo20180314kathmandu (2) photo20180314kathmandu (5) photo20180314kathmandu (6) photo20180314kathmandu (7) photo20180314kathmandu (8) photo20180314kathmandu (9) photo20180314kathmandu (10) photo20180314kathmandu (11) photo20180314kathmandu (12) photo20180314kathmandu (13)   photo20180314kathmandu (19) photo20180314kathmandu (20) photo20180314kathmandu (21)


अनलाइन डेस्क