दोषीको पहिचान गरी कारबाही गरः इन्सेक

आज बिहान काठमाडौँ र ललितपुरका केही विद्यालयमा गराइएका बम विष्फोटन तथा विस्फोटक पदार्थ राख्ने घटनाहरूप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा असोज ४ गते हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-'यस्ता घटनाको हामी घोर निन्दा एवम् भत्सर्ना गर्दछौं ।'

'यो घटनाले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र-१९४८ र बाल अधिकारसम्बन्धी महासन्धि-१९८९ को मूल मर्म र भावना विपरित भयरहित वातावरणमा बाँच्न पाउने बालबालिकाको अधिकार कुष्ठित भएको छ । त्यसैगरी उक्त घटनाले नेपालको संविधानको धारा ३९ मा उल्लेख गरिएको बालबालिकाको हकसमेत कुष्ठित गरेको छ ।'-जारी विज्ञप्तिमा भनिएको छ ।

शान्ति क्षेत्रका रूपमा विकसित हुँदै आएका विद्यालय परिसरमा गराइएका विष्फोट र विष्फोटक पदार्थ राख्ने कार्यको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न र आम नागरिकको शान्ति सुरक्षामा संवेदनशील बन्न इन्सेकले नेपाल सरकारसँग माग पनि गरेको छ ।

'पछिल्लो समय मौलाइरहेको दण्डहीनता अन्त्यका लागि पनि यस्ता अपराधिक कार्यमा संलग्नको पहिचान गरी समाजले थाहा पाउने गरी कारबाही गर्न हामी जोडदार माग गर्दछौं ।'-विज्ञप्तिमा भनिएको छ ।

काठमाडौँ जोरपाटीस्थित मनकामना उच्च माध्यमिक विद्यालय र आकाशदीप विद्यालयमा असोज ४ गते भएको बम विष्फोट तथा अन्य नौवटा विद्यालयहरूलाई लक्षित गरी विष्फोटक पदार्थहरु राखिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार अयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यी घटनाहरूको सम्बन्धमा आयोगले अनुगमन समेत गरेको आयोगकी प्रवक्ता एवम् सदस्य मोहना अन्सारीले बताएकी छन् । आयोगले असोज ४ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनाबाट बालबालिकाहरू र अविभावकहरूमा मनोवैज्ञानिक त्रास सिर्जना भएको छ भने बालबालिकाहरूले शान्तिपूर्ण वातावरणमा भयरहित ढङ्गले शिक्षा हासिल गर्न पाउने अधिकार समेत उल्लङ्घन भएको जनाएको छ ।

‘विद्यालयहरूमा भएका यस्ता कार्य मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा २८, बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ को धारा १४ र १९ तथा नेपालको संविधानको धारा ३९, बालबालिका सम्बन्धी ऐन २०४८, विपरितको कार्य हो ।’–जारी विज्ञप्तिमा भनिएको छ–‘यस्ता कार्यबाट बालबालिकाले सुरक्षित र शान्तिपूर्ण वातावरणमा  पढ्न पाउने अधिकार तथा बालबालिकाको स्वतन्त्रता र सुरक्षाको अधिकार समेत उल्लङ्घन भएको छ ।’

उक्त घटनाप्रति आयोगले गम्भीर दुःख व्यक्त गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनको दायरा भित्र ल्याउन तथा कडा कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी जवाफदेहीता निगरानी समितिले पनि आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर निन्दा गर्दै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

'शिक्षाक्षेत्र एवम् विद्यालयमा अध्ययनरत कलिला बाल-बालिका समेतलाई भौतिक क्षति एवम् आतङ्कित पार्ने उद्देश्यले गरिएको यो कार्य अत्यन्त आपत्तिजनक, दुराचारी एवम् आततायी समेत भएको हाम्रो ठहर छ ।'-विज्ञप्तिमा भनिएको छ ।

यस्ता अपराधजन्य गतिविधि बारम्बार दोहोरिनु भनेको मुलुकको विद्यमान दण्डहीनताको उपज भएको समितिले जनाएको छ । 'राजनीतिका आडमा विगतका सशस्त्र द्वन्दकाल तथा मधेश आन्दोलनका नाममा भएका आपराधिक गतिविधिले पाएका उन्मुक्ति र सम्भावित मुक्तिको प्रतिफल हो यो । भर्खरै भारत भ्रममणको सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहालले फरार अभियुक्त रेशम चौधरीलाइ भेटेको घटनाले पनि सरकार दण्डहीनतालाई संस्थागत गर्न कटिबद्ध छ भन्ने देखाँउछ ।'-विज्ञप्तिमा भनिएको छ ।


अनलाइन डेस्क