दोश्रो सुरक्षित गर्भपतन सेवा दिवसमा दीप प्रज्वलन

  ०७३ असोज १२ गते

दोश्रो सुरक्षित गर्भपतन सेवा दिवसको अवसरमा असोज १२ गते काठमाडौँमा दीप प्रज्वलन गरिएको छ । सेप्टेम्बर २८ का दिन विश्वभर यस दिवस मनाइरहेको यो दिवस नेपालमा पनि विभिन्न सङ्घसंस्था मिलेर "हाम्रो चाहनाः असुरक्षित गर्भपतनबाट महिलाहरूको मुक्तिको कामना" भन्ने मूल नारका साथ दीप प्रज्वलन गरी मनाइएको हो ।

photo20160928ktm

माइतीघर मण्डलामा आयोजित दीप प्रज्वलनमा उपस्थित सङ्घसस्थाका प्रतिनिधिहरूले गर्भपतनको अवस्था बारे महिलालाई जनचेतना जगाउन, उनीहरूको प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन गराउन पाउने अधिकार प्रत्याभूति गराउन र कुनै पनि महिलाको भविष्यमा असुरक्षित गर्भपतनको कारणले मृत्यु हुन नपरोस् भन्दै कामना गरेका छन् ।

विश्वमा प्रतिवर्षकरिव २० करोड ८० लाख महिलाहरू गर्भवती हुने गरेको र ती मध्ये ८ करोड ५० लाख अर्थात् ४१ प्रतिशत गर्भ अनिच्छित हुने गरेको छ । यसरी अनिच्छित बसेको गर्भमध्ये करिब आधा अर्थात् ४ करोड ६० लाखले गर्भपतन गराउने गर्दछन् ।

नेपालमा पनि जनसाङ्खिक स्वास्थ्य सर्वेक्षण २०११ को आधारमा करिब २५ प्रतिशत अर्थात् ४ गर्भहरूमध्ये एक गर्भ अनिच्छित तथा अनियोजित हुने गरेको देखाएको छ । यस्तै सर्वेक्षण अनुसार गर्भवती महिलाहरूमध्ये ७.५ प्रतिशत महिलाहरूले गर्भपतन गर्ने गरेको पाइन्छ ।

नेपालमा २०५९ साल असोज १० गते गरिएको मुलुकी ऐनको ११ औं संशोधनले गर्भपतनलाई कानुनी मान्यता दिएपछि यसका बारेमा खुला छलफल हुन थालेको हो । यसै कानुनी मान्यताको आधारमा नेपालमा सरकारी, गैरसरकारी र नीजि संस्थाहरूले गर्भपतन सेवा प्रदान गरिरहेका छन् । तर, यो सेवा पर्याप्त नभएको सरोकारवालाहरूले बताउने गरेका छन् ।


विवेक ढुङ्गाना