देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी

गङ्गामाया बचाउ अभियानले कृष्णप्रसाद अधिकारी हत्या घटनाका आरोपित छविलाल पौडेललाई तत्काल गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि नबढाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमा जाने जनाएको छ ।

कान्छो छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गङ्गामाया अधिकारी पछिल्लोपटक ३२ दिनदेखि वीर अस्पतालमा आमरण अनशनमा छिन् ।

अधिकारीको अवस्था गम्भीर बन्दै गएको भन्दै अभियानले भदौ २७ गते काठमाडौँमा पत्रकार सम्मलेन गर्दै उनको जीवन रक्षाका लागि सरकारले मुख्य आरोपित पौडेललाई तत्काल गिरफ्तार गर्नुपर्ने माग राखेको छ ।

अभियानकर्ता अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतलेसमेत हत्याका मुख्य आरोपिलाई तत्काल गिरफ्तार गर्न आदेश दिएको उल्लेख गर्दै राष्ट्रिय कानुनबमोजिम कारबाही नगरे आफूहरू अन्तर्राष्ट्रिय कानुनबमोजिम अघि बढ्ने चेतावनी दिए ।

अभियानकर्ता एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य कपिल श्रेष्ठले चितवन जिल्ला अदालतले अस्पतालमै आएर बयान लिने भने पनि अधिकारी बोल्न नसक्ने अवस्थामा रहेको जनाउँदै तत्काल सरकारलाई यसप्रति गम्भीर हुन आग्रह गरे ।

अधिकारकर्मी सुबोधराज प्याकुरेलले गङ्गामायालाई तत्काल अनशन तोड्न आग्रह गर्दै भने-'पहिला बाँच्नुपर्‍यो । अनि मात्रै न्यायको लागि लड्न सकिन्छ । हाम्रो अनुरोध छ कि तपाई अनशन तोड्नुहोस । जीवन बचाएर मात्रै सङ्घर्ष गर्न सकिन्छ ।'

प्याकुरेलले नेपालमा गङ्गामायलाई देशमा न्याय नदिए प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रङ्घको बैठकमा भाग लिन जानुअघि नै अधिकारीलाई न्याय दिलाउन राष्ट्रसंघसमक्ष र महासचिव बान की मुनलाईसमेत आग्रह गर्ने जनाउ दिए ।

अभियानकर्ता दिनेश त्रिपाठी, कपिल श्रेष्ठ, शर्मिला कार्की, रसना ढकाल, आशिकराम कार्की र पुप्प पौडेललगायतले गङ्गामायालाई न्याय नदिए आफूहरू प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको बैठकमा भाग लिन जानुअघि नै अधिकारीलाई न्याय दिलाउन राष्ट्र सङ्घसमक्ष र महासचिव वान की मुनलाईसमेत आग्रह गर्ने बताए ।

डा केदारनरसिंह केसीले आफूलाई बचाएर मात्रै आफ्नो अधिकारका लागि लड्न सकिने भन्दै अधिकारीलाई तत्काल अनशन तोड्न आग्रह गरे ।


अनलाइन डेस्क