देशभर उम्मेदवार मनोनयनपत्र दर्ता सुरु

  ०७९ असोज २३ गते

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सुरु गरेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनु भएको छ ।

प्रत्यक्षतर्फ देशभरिका १ सय ६५ प्रतिनिधिसभा सदस्य र ३ सय ३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । उम्मेदवारी दर्ता आइतबार बिहान १० बजे सुरु भई साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

इन्सेकका प्रतिनिधिहरूका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षात्का कारण मनोनयन दर्तामा समस्या देखिएको छ ।

मनोनयनपत्र दर्ता उम्मेदवार स्वयम् उपस्थित भई वा प्रतिनिधिमार्फत गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहितामा उल्लेख गरिएको छ ।


अनलाइन डेस्क