देवरले प्रहार गरेको धारिलो हतियारबाट भाउजु घाइते

त्रिवेणी गाउँपालिका–१ रुँघाकी ३७ वर्षीया दिलसरा बोहरा खड्कालाई ०७९ असार २६ गते ३६ वर्षीय देवर देउकुमार खड्काले धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।

धारिलो हतियार प्रहारबाट दिलसरा गम्भीर घाइते भएको र जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि उहाँलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर रिफर गरिएको डा. भिमकान्त जैसीले जानकारी दिनुभयो ।

दिलसराको टाउको र हातमा गहिरो चोट लागेको डा. जैसीले बताउनु भएको छ । घटनाका आरोपित देउकुमार खड्कालाई प्रहरीले असार २७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डीएसपी विष्णु सोतीले जानकारी दिनुभयो ।

जग्गाको विषयमा विवाद हुँदा देउकुमारले भाउजुलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डीएसपी  सोतीले जानकारी दिनुभयो ।

दिलसराले आफ्नो र छोराहरूको भागमा पर्ने अंश आफुले पाउनुपर्ने माग राखेपछि सोही विषयमा विवाद चुलिदै गएपछि आरोपित देउकुमारले असार २६ गते राति भाउजुलाई खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी सोतीले बताउनु भयो ।

खुकुरी प्रहारबाट दिलसरा घाइते भएपछि प्रहरीलाई स्थानीयबासीले खबर गरेका थिए ।


मनिषा केसी