देवघाटको निर्मणाधिन आधारभुत अस्पताल अलपत्र !

  ०८१ भदौ २ गते

देवघाट गाउँपालिकामा निर्माणाधिन आधारभुत अस्पतालको निर्माण कार्य थपिएको अवधि सकिएपनि अलपत्र अवस्थामा रहेको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ मा २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको उक्त अस्पताल बनाउन तोकिएको सम्झौता अवधि गत २०८० असार मसान्तमै सकिएको थियो ।

तर, उक्त अवधिमा पिल्लर उठाउने र डिपिसको काम बाहेक अन्य कुनै काम नभएपछि २०८१ असार मसान्त सम्मकोलागि अवधि थपिएको देवघाट गाउँपालिकाका इन्जिनियर तिर्थ ढुङ्गानाले बताउनु भयो । एक वर्षको लागि थपिएको म्याद सकिएपनि अस्पताल निर्माणमा कुनै प्रगति भएको छैन । अस्पतालको पिल्लर उठाएर पहिलो ढलानमात्र गरिएको छ भने अन्य कुनै पनि काम भएको छैन । देवघाट गाउँपालिकाले धेरै पटक ताकेता गरेपछि गत माघ अन्तिम साता ढलान गरिएके थियो । ढलान पछि पुनः निर्माणकर्मीहरु फर्केर नआएको इन्जिनियर ढुङ्गानाले जानकारी दिनु भयो ।

photo20240818tanahu

प्रधानमन्त्री केपी शर्मा ओली २०७७ सालमा प्रधानमन्त्री हुँदा उक्त सरकारले देशभरका सबै स्थानीय तहमा कम्तीमा ५ शैयाको अस्पताल बनाउने नीति ल्याएकोमा देवघाट गाउँपालिकामा १० शैयाको अस्पताल बनाउने निर्णय भएको थियो । सो अस्पताल निर्माणको लागि आवश्यक पर्ने जग्गा देवघाट गाउँपालिका वडा नम्बर ५ को कार्यालय र देवघाट स्वास्थ्य चौकीलाई अन्यत्र स्थानान्तरण गरेर सो ठाउँमा १० शैयाको आधारभुत अस्पतालको २०७७ साल मङ्सिर १५ गते तनहुँ क्षेत्र नम्बर १ का तत्कालिन सांसद कृष्णकुमार श्रेष्ठ किसानले शिलान्यास गर्नुभएको थियो । उक्त अस्पताल निर्माणको लागि तत्कालिन सङ्घीय सरकारले १० करोड ८५ लाख रुपियाँ विनियोजन गर्ने प्रतिबद्धता आएको थियो ।

अस्पताल निर्माणको लागि रोशन–शिवशक्ति जेभी निर्माण कम्पनीसँग ७ करोड रुपियाँमा २०७८ वैशाखमा सम्झौता भएको थियो । समयमा निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीले २०८० सालमा दुई वर्ष म्याद थप्न प्रस्ताव गरेपनि गाउँपालिकाले एक वर्ष मात्र म्याद थपेको इन्जिनियर ढुङ्गानाले जानकारी दिनुभयो ।

देवघाट गाउँपालिका वडा नम्बर ५ का पुर्व अध्यक्ष यालबहादुर गुरुङले अस्पताल जस्तो संवेदनशील भवनको निर्माण कार्य रोक्न नहुने बताउनु भयो । अस्पताल निर्माणमा ढिलाई भएपछि देवघाटबासीको आधारभुत स्वास्थ्य सेवाको लागि चितवनको भरतपुर जानुपर्ने बाध्यताको अन्त्य हुने आशा तत्काल पुरा नहुने गुरुङले बताउनु भयो ।


प्रकाशचन्द्र भट्टराई