देउता चढेको भन्दै धामी बनाइँदा झण्डै ४ सय बालक पढाइबाट वञ्चित

  ०७८ पुस २९ गते

केदारस्युँ गाउँपालिका भैरवनाथका धनशेर विष्ट अहिले १९ वर्षका भए । १३ वर्षको उमेरदेखि उहाँमा देवता चढेर काम्ने गरेका थिए । यही कारण गाउँलेले बाठपाला देउता चढेको भन्दै उहाँलाई पूजाआजा गरेर धामी बनाए । त्यसपछि कक्षा १० मा पढदै गरेका उहाँको पढाइ त रोकियो नै, खानपान, हिडडुललगायतका बालसुलभ क्रियाकलापमा समेत सामाजिक बन्धन लाग्यो ।

धनशेर अब ‘देउताका मान्छे’ भएकाले नियममा बस्नु पर्ने भएको छ ।

धनशेरले भन्नु भयो– ‘साथीहरू जस्तै स्कुल जान, रमाइलो गर्न, हाँसखेल गर्न त मन लाग्छ । तर, देउताले सहदैनन् । त्यसैले स्कुल पनि छाडिदिए । अहिले सबै चाहना मारेर देउताकै भक्तिमा लागेको छु ।’

उहाँ मात्र होइन जिल्लामा अरू पनि थुप्रै बालक छन् जसलाई धामी बनाइएको छ । अरू बालबालिकाजस्तै पढ्ने, लेख्ने र बालसुलभ क्रियाकलाप गर्नबाट वञ्चित छन् ।

धामीले अरूले पकाएको खान नहुने, महिनावारी भएका र सुत्केरी, दलित र जुठो (आशौच) बारेका मानिसलाई छुन नहुने, कपाल काट्न नहुने, टाउँकोमा फेटा बाँध्नु पर्ने, घरको तल्लो तलामा सुत्न नहुने, कुखुराको मासु, अण्डा, कोदो, मासलगायत परिकार खान नहुने परम्परा छ ।

मष्टो देवता चढेको भन्दै धामी बनाइएका भातेखोलाका २१ वर्षीय कृष्णराज उपाध्यायले भन्नु हुन्छ, ‘देउताले रोजिसकेपछि उसको नियम मान्नु पर्ने हुन्छ । नभए देउता रिसाएर अनिष्ट हुन्छ । धामी भएपछि छोइछिटो होला भनेरै नौ कक्षा पढ्दै गर्दा स्कुल जान बन्द गरे । एक्लै कतै जाने स्वतन्त्रतासम्म छैन् । एक जना साथी लिएर मात्रै बाहिर जानु पर्छ ।’

जिल्लामा गाउँपिच्छे धामी छन् । २२ वर्षको उमेरमा धामी बनाइएका रमेश खडकाले यकिन भन्न नसकिए पनि जिल्लाभरिमा २ हजार जना जति धामी हुन सक्ने बताउनु भयो । खडकाका अनुसार जिल्लाभरि ३ सयदेखि ४ सयसम्म बालक नै धामी बनाइएका छन् । धामी बनाइएका सबै बालबालिका विद्यालय जान र स्वतन्त्रपूर्वक हिड्न समेत पाउदैनन् ।

बालकहरुमा देउता चढेको भनेर धामी बनाउने परम्पराले गर्दा जिल्लामा ठुलो सङ्ख्यामा धामी बालकहरु रहेका र उनीहरु शिक्षा, स्वतन्त्रताबाट वञ्चित हुँदै आएको मानव अधिकार सञ्जाल, बझाङका सदस्य तथा पत्रकार रमेश केसीले बताउनु भयो ।

यहाँका बासिन्दा डाँडाबाग, नवादेउ, बाठपाला, धौलपुरो, लाकुडो, लाटोसिद, कालसैन, नानन, खापर, कैलाश, ऐकुमारलगायत दर्जनौँ देउता मान्छन् । धामीहरूले विभिन्न खालका बिरामी निको पार्ने, घरमा भएको अनिष्ट, अनिकाल र सङ्कटबाट पार लगाइ दिने, भूतप्रेतबाट जोगाइदिने स्थानीयहरुले विश्वास गर्ने गरेका छन् ।

मनोकांक्षा पुरा गर्न देवताहरूलाई राँगाबोका, घोडा, सुन, चाँदी भाकल गर्ने र चढाउने चलन छ । अधिकांश ग्रामीण बास्तीमा बिरामी पर्दा वा कुनै दुर्घटनामा पर्दा सुरुमा धामीकहाँ पुग्ने र सिकिस्त भइसकेपछि मात्रै स्वास्थ्य संस्थामा आउने गरेको अनुगमनका क्रममा जानकारी प्राप्त भएको साइपाल गाउँपालिकाका स्वास्थ्य संयोजक जयराज जोशीले बताउनु भयो ।

केदारास्यू गाउँपालिका–६ स्थित भाटसैन स्वास्थ्य चौकीका प्रमुख दलबहादुर धामीले अहिले पनि ८० प्रतिशन स्थानीयहरुले धामीझाक्रीमा विश्वास गर्दै आएका कारण बालबालिका, ज्यष्ठ नागरिक, गर्भवतिहरुले थप स्वास्थ्य समस्या भोग्दै आएका बताउनु भयो ।

उहाँले बिरामी भएपछि धामीझाक्रीमा पहिला जाने र सिकिस्त बिरामी भइसकेपछि मात्रै स्वास्थ्य चौकीमा आउने गरेका कारण स्थानीयस्तरमा स्वास्थ्य जनचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।

कुनैकुनै धामीले दाँतले बोका काट्ने, नांगो हातले आँगो खेलाउने, आँगो खाने, तातो तेल पिउनेजस्ता ‘चमत्कार’ देखाउने गरेको स्थानीयमा विश्वास रहेको पाइन्छ ।  बालबालिका धामी बस्दा विद्यालय जानबाट वञ्चित हुनका साथै स्वतन्त्रताको अधिकारबाट समेत वञ्चित भएका छन् ।

जिल्लाका सबै स्थानीय तहमा विभिन्न संघसंस्था तथा स्थानीय सरकारले नै विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएका भएपनि कुनै परिवर्तन भने नभएको दुर्गाथलीका स्थानीय कृष्ण जोशीले बताउनु भयो ।

स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुले धामीहरुका लागि छुट्टै खालको कक्षा सञ्चालनको प्रकृया अगाडी बढाएको भएपनि धामीहरु एक अर्काको छोएको पानी समेत नखाने भएकाले कक्षाहरु सञ्चालन गर्न नसकेको बताउँदै आएका छन् ।

जिल्लामा भएका धामीहरुको सङ्ख्या टिपोर्ट गरेर उहाँहरुलाई एकै ठाउँ बसालेर बढाउने गरी प्रकृया अगाडी बढाए पनि उक्त प्रकृयाले सफलता नपाएको मष्टा गाउँपालिका शिक्षा शाखा प्रमुख पृथ्थु जोशीले बताउनु भयो ।

स्थानीय तहबाट हुने सहकार्य तथा बालक धामीहरुको पढाईको लागि आफूहरुले विभिन्न विकल्पहरु अपनाए पनि धामीहरुको आन्तरिक समस्याका कारण असफल हुन नसकिएको र अझै पनि उहाँहरुले पढ्ने इच्छा जाहेर गरेको खण्डमा धामीहरुको छुट्टै कक्षा व्यवस्थापनका लागि तयार रहेको छविसपाथिभेरा गाउँपालिका अध्यक्ष अक्कल धामीले बताउनु भयो ।

विद्यालयमा आएका बालधामीहरुलाई विद्यालय आउँदा अफ्ठेरो हुने र बिरामी पर्ने गरेका कारण अविभावकहरुले विद्यालय जान रोक लगाउने गरेको जयपृथ्वी नगरपालिका–१ कैलासमा रहेको नारायण माध्यामिक विद्यालयका शिक्षक दिनेश शाहीले बताउनु भयो । उहाँले भन्नु भयो– ‘एक पटक हामीले स्कुल पढाउन लगाउनु पर्छ भनेर अविभावकसँग छलफल गरेर विद्यालय पठाउन आग्रह गरेउँ । तर, विद्यालय आएका सबै बालक धामीहरु बिमारी परेको अभिभावकले बताउनु भयो । त्यसपछि विद्यालय पठाइ दिनुस भनेर अनुरोध गर्न छोडेउ ।’

सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले  बालक धामीहरुको समस्याका सन्दर्भमा सरोकारवालासँग छलफल गरेर पठनपाठनको व्यवस्थापनका लागि पहल गर्ने बताउनु भयो ।


सत्यराज सिंह