दुषित पानी पिउन बाध्य भएको स्थानीयहरुको गुनासो

  ०७८ कात्तिक १२ गते

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको भएपनि दोधारा चाँदनी नगरपालिका–१० का स्थानीयबासी दुषित पानी पिउन बाध्य भएका छन् ।

केही दिन अगाडी सुदूरपश्चिम प्रदेशमा परेको अविरल वर्षाका कारण आएको बाढीले खानेपानीका धारा टुटफुल हुनु, भत्किनुका साथै हेन्डपाइपमा बाढीले ल्याएको फोहर जम्मा भएपछि स्थानीयहरु दुषित पानी पिउन बाध्य भएका हुन् ।

दुषित पानी पिउन बाध्य भएको दुई साता बितिसक्दा पनि खानेपानीका पाइप, धारा तथा हेन्डपाइपहरु मर्मत तथा सरसफाइ नगरिएको कारण झाडापखालाका रोगीहरुमा बृद्धि भएको स्थानीयहरुको गुनासो रहेको छ ।

जनताको आधारभुत आवश्यकताका रुपमा रहेको खानेपानीको व्यवस्था नगरिदिएका कारण आफूहरु धमिलो पानी पिउन बाध्य रहेको स्थानीय टेकु सुनारले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँ नजिक रहेका पानीका मुहानहरुमा ढुङ्गा, माटो, बालुवालगायतका फोहरहरु भरिएका छन् । खाना पकाउन, लुगा धुन, गाईभैसीलाई खुवाउन दुषित पानी प्रयोग गर्न बाध्य छौँ ।’

बाढीपीडित भएपछि जनप्रतिनिधिहरु अवलोकन गर्न आएको बेला पनि आफूहरुले खानेपानीको समस्या बारे ध्यानाकर्षण गराउँदा समेत अहिलेसम्म कुनै पहल नभएको स्थानीय पुष्पा नेपालीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘तीन तहको सरकार भएपनि आफूहरुले दुई सातादेखि दुषित पानी पिउनु परेको छ । दुषिद पानीका कारण बालबच्चा, सुत्केरी, गर्भवतिहरु बिरामी पर्न थालेका छन् । सरसफाइको अभावका कारण बालबालिकाहरु विद्यालय जान मानेका छैनन् । पठनपाठनमा समस्या उत्पन्न भएको छ ।’

बस्तीमा रहेका खानेपानीका हेन्डपाइपमा बाढीको पानी पसेर पानीको मुहान नै दुषित भएपछि आफूहरु दुषित पानी नै प्रयोग गर्दै आएकोले झाडापखालाका बिरामीहरु सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको स्थानीय मोहन सुनारले गुनासो गर्नु भयो ।

९ सय भन्दा बढी घरधुरी भएको दोधारा चादनी नगरपालिकामा दिनानुदिन भाडापखाला र शरीर चिलाउने रोगीहरुको सङ्ख्या बढ्दै गएका छन् ।

आरोग्य मेडिकेयर एण्ड डाइग्नोस्टिक सेन्टरका डाक्टर गगन चौधरीका अनुसार दोधारा चादनी नगरपालिका–१० मा आएको बाढीपहिरोका कारण खानेपानी दुषित भएपछि त्यस क्षेत्रका स्थानीयहरु शुद्ध खानेपानीको अभावमा दुषित पानी खान बाध्य भएपछि झाडापखाला, रुघाखोकी, ज्वरो, शरीर चिलाउनेलगायतका सरुवा रोगका बिरामी बढी रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘हामीले ५ सयदेखि ६ सय जनासम्मको निःशुल्क उपचार गरेका छौँ । उपचार गरेकामध्ये सबै भन्दा बढी झाडापखालाका बिरामी थिए । जसमध्ये ६० प्रतिशत महिला, १५ प्रतिशन बालबालिका, २० प्रतिशन ज्येष्ठ नागरिक र दिर्घरोगी रहेका छन् । आर्थिक अभावका कारण हामीले तीन दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरेर उपचार गरेको हो । अहिले नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शुद्ध पानी नभएका कारण पेट दुख्ने, शरीर चिलाउने, झाडापखालाका विरामीहरु बडिरहेका छन् ।’

दुषित पानीका कारण नगर क्षेत्रमा बिरामीहरुको सङ्ख्या बढन थालेपछि प्राथमिकस स्वास्थ्य केन्द्र र स्वास्थ्य इकाईबाट स्वास्थ्यकर्मीहरु परिचालन गरिएको र पानी सफा क्लोरिन टेबलेट पनि वितरण गर्ने कार्य भइरहेको नगर प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष दिलबहादुर सिजालीले बताउनु भयो ।

सामाजसेवी भिम कुमालको आर्थिक सहयोग, आरोग्य मेडिकेयर एण्ड डाइग्नोस्टिक सेन्टरका डाक्टर गगन चौधरीको प्राविधिक सहयोग र महाकाली प्याथोलोजी दोधारा चाँदनीका सञ्चालक पवन खत्रीको प्रयोगशाला सहयोगमा बाढीग्रस्तबस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी झाडापखाला र अन्य बिरामीहरुको उपचार भइरहेको नगर प्रवक्ता तथा वडाध्यक्ष सिजालीले बताउनु भयो ।

दोधाराको कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोलहरुमा महाकाली नदी र जगबुडा नदीको भगालो पसेपछि स्थानीयकहरुको धानबाली नष्ट भएको छ । बाढीका कारण घरहरुमा क्षति पुगेपछि सयाँै स्थानीयहरु विस्थापित भएका छन्  उहाँहरुको पुनस्र्थापना हुन सकेको छैन् ।


लिली कुँवर