दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  २०७८ असोज २५ गते

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४१ वर्षीय छबिलाल सुवेदीलाई असोज २४ गते कार्यकक्षमै मोबिल प्रहारको प्रयास गरी दुर्व्यवहार गरेको भन्दै मुगुका १९ वर्षीय जीवन बिकलाई प्रहरीले गिरफ्तार गरेको छ । घटनामा सलंग्न अन्य तीन जना ‘फरार’ रहेका छन् ।

पीडितलाई आरोपितहरूले कार्यकक्षमा बसेर काम गरिरहेको अवस्थामा एक्कासी भित्र छिरेर कालोपदार्थ प्रहार गरी दुव्र्यवहार गरेको पीडितले बताउनुभयो ।

photo20211011Myagdi3

मोबिलको प्रहारबाट अधिकृत सुवेदी बस्ने कुर्सी, टेबुल र कुर्सी पछाडि भित्तामा समेत असर पुगेको छ ।

यसअघि पटकपटक चन्दा मागिएको र आफूले दिन नमिल्ने भनेपछि यो घटना भएको सुवेदीको भनाइ छ । मोबिल प्रहार गरेर भाग्दै गरेको अवस्थामा कार्याकक्षमै रहेका जनप्रतिनिधिले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

‘विगतमा पनि चन्दा माग भएको थियो । दिन सकिएन ।’–उहाँले भन्नुभयो–‘पहिला आउने र अहिले आएकाहरू समूह फरक होलान् ।’

photo20211011Myagdi1

गिरफ्तार गरिएका आरोपितलाई हाल हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी श्यामकुमार राईले बताउनुभयो ।

‘नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले यसअघि कुनै पनि समयमा यस्तो सुरक्षा थ्रेट रहेको जानकारी नगराएको र घटनापछि मात्रै विगतमा चन्दा माग भएको हुँदा आफूले नदिएको बताउनुभएको छ ।’–उहाँले बताउनुभयो ।

photo20211011Myagdi2

घटनास्थलबाट प्रहरीले युवा सङ्गठन नेपालको नाममा रहेको सहयोगी रसिद, एक सेट मोबाइल, घडी, कलम लगायतका सामग्री बरामत गरेको छ ।

यसअघि पनि बेनी नगरपालिका–२, ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापालाई दुई वर्ष अगाडि अपरिचित व्यक्तिहरूको समूहले कार्यकक्षमै रहेको समयमा मोसो दलेर दुव्र्यवहार गरेको थियो ।

photo20211011Myagdi4


अमृतप्रसाद पौडेल