दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८१ पुस १९ गते

घोराही उपमहानगरपालिका–१५ का ६० वर्षीय धर्मबहादुर बस्नेत र उहाँकी ५७ वर्षीया पत्नी माधवा बस्नेतलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दाङ जिल्ला सेक्रेटरी २९ वर्षीय अमर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।

रोल्पाबाट दाङ आउँदै गरेको बेला प्रहरीले ०८१ पुस १७ गते घोराही उपमहानगरपालिका–१९ को दुइखोलीबाट गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका एसपी अर्जुनकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । बस्नेत दम्पतिलाई ०८१ मङ्सिर ६ गते नचिनेका व्यक्तिहरूले समातेर नाकको माथिल्लो भाग धारिलो हतियारले काटेर घाइते बनाएका थिए । मर्निङ वाकमा हिडेका बेला पाँच/सात जनाको समूहमा आएका उनीहरूले नाकको माथिल्लो भाग काटेर भागेको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य उपचार मङ्सिर ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो । धर्मबहादुर बस्नेतले मिटर व्याज लिएर सर्वसाधारणलाई शोषण गरेको भन्दै ०८१ मङ्सिर ६ गते नै नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमर खड्काले विज्ञप्ति निकालेर चेतावनी स्वरुप नाक काटेर छोडिएको भन्दै घटनाको जिम्मेवारी लिनुभएको थियो । गिरफ्तार गरिएका खड्कालाई हिरासतमा राखेर अनुसन्धान थालिएको एसपी तिमिल्सिनाले बताउनु भयो ।


जयनारायण पुन