यौन दुर्व्यवहार घटनाका आरोपित प्रधानाध्यापकविरुद्ध उजुरी

  ०७९ मङ्सिर २१ गते

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा टोखा नगरपालिका–१०सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईविरुद्ध पीडित पक्षले ०७९ मङ्सिर २० गते प्रहरी वृत महाराजगञ्जमा उजुरी  दिएको छ ।

पीडित बालिकालाई भदौ ७ गते प्रधानाध्यापक भट्टराईले कक्षा कोठामा बोलाएर यौन दुर्व्यवहार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।

उजुरी प्राप्त भएसँगै अनुसन्धान थालिएको महाराजगञ्जका प्रहरी वृतका डीएसपी अंगुर जिसीले जानकारी दिनु भयो ।

भट्टराईले अरुलाई बाहिर पठाउने र पीडितलाई कक्षाकोठामा एक्लै बोलाएर दुर्व्यवहार गर्ने गरेको भन्दै एक छात्राको तर्फबाट मात्र प्रहरीमा उजुरी परेको हो ।

प्रधानाध्यापक भट्टराईलाई कारबाहीको माग राख्दै विद्यार्थीहरूले मङ्सिर २० गते विद्यालय परिसरमा प्रदर्शन गरेका छन् ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा