दुर्व्यवहार घटनाका आराेपित गाउँपालिका अध्यक्षविरूद्ध उजुरी

  ०८१ साउन २३ गते

Rajgadh

कान्तिपुर टेलिभिजनका संवाददाता राजविराज नगरपालिका-२ का ४१ वर्षीय रामनारायण विश्वास, राजविराज दैनिकका प्रकाशक राजविराज नगरपालिका-८ का ४६ वर्षीय नवीनकुमार गुप्ता, नेपाल समाचारपत्रका संवाददाता बोदे बर्साइन नगरपालिका-३ का ३२ वर्षीय विद्यानन्द रामलाई राजगढ गाउँपालिका अध्यक्ष राजगढ गाउँपालिका-४ बेल्ही चपेनाका ४९ वर्षीय ओमप्रकाश मण्डलले ०८१ साउन २२ गते दुर्व्यवहार गरेको भन्दै पीडित पत्रकारहरुले र नेपाल पत्रकार महासंघ सप्तरीले साउन २३ गते जिल्ला प्रहरी कार्यालयका एसपी गजुसिद्दी बज्राचार्य समक्ष छुट्टाछुट्टै उजुरी दिनु भएको छ ।

नेपाल पत्रकार महासंघ सप्तरीले उक्त घटनाकाे घोर भत्र्सना गर्दै साउन २२ गते प्रेस विज्ञप्ति जारी गरेको छ । समाचार सङ्कलनका क्रममा पत्रकारहरूलाई अवरोध पुर्‍याउने, समाचार उपकरण खोस्ने, कोठामा थुन्ने र दुर्व्यवहार गर्ने घटनाप्रति ध्यानाकर्षण भएको भन्दै महासंघका अध्यक्ष श्रवणकुमार देवले सत्यतथ्य छानबिन गरी दोषीलाई अविलम्ब कारबाही गर्न विज्ञप्तिमार्फत माग गर्नुभएको छ । विश्वास नेपाल पत्रकार महासंघ सप्तरीका सचिव, गुप्ता कोषाध्यक्ष र राम कार्यसमितिका सदस्य हुन् ।

राजगढ गाउँपालिकाका अध्यक्ष मण्डलले विधि, पद्धति र ऐन विपरीत १३औं गाउँसभा गरेको भन्दै ३३ जना कार्यपालिका सदस्यमध्ये उपाध्यक्षसहित १७ जना गाउँसभा सदस्यले पुनः गाउँसभा गर्नुपर्ने लगायत विभिन्न माँग राखी सिडिओ मेघ बहादुर मंग्रातीलाई साउन २१ गते ज्ञापनपत्र बुझाउनु भएको थियो । सोही ज्ञापनपत्रको बोधार्थ अध्यक्ष मण्डललाई बुझाउने कार्यक्रमको समाचार सङ्कलनका लागि पत्रकारहरू राजगढ गाउँपालिका कार्यालय पुग्नुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव बाहिर हुँदा पनि उनको कार्यकक्षमा चलिरहेको एसीको भिडिओ खिचिरहेका पत्रकार विश्वासलाई अनुमति विना फोटो, भिडिओ खिचेको भन्दै बुम (माइक) खोस्ने र प्रमुख प्रशासकीय अधिकृतको कक्षमा केही बेर रोक्ने काम गरेर अध्यक्ष मण्डललगायतकाले अभद्र व्यवहार गरेको प्रत्यक्षदर्शीले बताउनु भयो ।


मनोहरकुमार पोखरेल