दुर्घटनामा परी सहायक मतदान अधिकृतको मृत्यु, गुठीचौरमा जेठ १ गते पुनः मतदान

  ०७९ वैशाख ३१ गते

वीरेन्द्रनगर नपा–३ हरिडीलभूमिको ग मतदान केन्द्रका सहायक मतदान अधिकृत ४३ वर्षीय हृदयराम ढकालको मतदानको सबै काम सकेर घर फर्कँदै गर्दा वैशाख ३० गते राति ७.३० बजे मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

वीरेन्द्रनगर नपा–११ निवासी ढकालको दुर्घटना सोही नपा–८ को कृष्णमन्दिर टोलमा भएको थियो । उहाँ वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा छैठौँ तहमा कार्यरत हुनुहुन्थ्यो ।

यसैगरी सुर्खेतकै वराहताल गाउँपालिका–२ तेलपानी निवासी ६५ वर्षीय लालबहादुर पुलामी मतदान गरी घर फर्कने क्रममा आएको हावाहुरीले रुख ढल्दा रुखले च्यापिएर मृत्यु भएको छ ।

डोल्पा जिल्ला प्रतिनिधि विष्णु देवकोटाका अनुसार मुडकेचुला गाउँपालिका–६ नर्कुतर्फ मतपेटिका लिएर जाँदै गर्दा सोही गाउँपालिका–४ निवासी २३ वर्षीय धनजित बुढा वैशाख ३० गते साँझ राइगाड खोलामा खसेर सम्पर्क विहीन हुनुभएको छ । उहाँको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी त्रिपुरासुन्दरी नपामा कूल खसेको ८ सय १४ मतमा २ सय २४ मतगणना हुँदा सबैमत सूर्य चिन्हमा खसेको र ठूलो साइजको स्वस्तिक छाप प्रयोग गरेको अन्य दलले आरोप लगाएर विवाद गरेपछि उक्त नगरपालिकाको मतगणना कार्य वैशाख ३१ गते दिउँसो ३ बजेदेखि स्थगित भएको छ ।

जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार गुठीचौर गाउँपालिका–३ गज्याङ्कोटस्थित शङ्कर मावि मतदानस्थलमा वैशाख ३० गते स्थगित भएको स्थानीय तहको निर्वाचन १ जेठमा हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईका अनुसार वैशाख ३० गते बेलुका मुख्य निर्वाचन अधिकृत ज्वाहरप्रसाद सिंहको अध्यक्षतामा बसेको बैठकले १ जेठमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

मतदानस्थलमा ढुङ्गामुढा र हुलमुल भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । स्थगित हुनुअघि १ हजार ७ मतमध्ये ३ सय २० मत खसेको थियो ।

मतदान स्थलमा ढुङ्गा हानाहान भएर मतदाता भागदौड गर्दा मतदाना नामावली र मतपत्र नै च्यातिएपछि मतदान कार्य स्थगित गर्नु परेको मुख्य निर्वाचन अधिकृत सिंहले बताउनु भयो ।

मतदानस्थल घेराबार नभएको र जोसुकै व्यक्ति सहजै प्रवेश गर्ने खालको भौतिक संरचना भएकाले यस्तो समस्या आएको उहाँले बताउनु भयो ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत