दुर्गममा स्वास्थ्य सेवाको अवस्था दयनीय, ६० प्रतिशत गर्भवती घरमै सुत्केरी हुन्छन्
हिउँदको बिहानी । कठ्याङ्ग्रिदो जाडो । घर नजिकै गाईगोठ । गाईको घाँटीमा बाँधिएको घण्टीको आवाज । ५८ वर्षीय सिंहराज गुरुङ दुहुना गाईका लागि घाँस खोले तयार गर्दै हुनुहुन्छ । आँगन छेउको भकारोमा भेडा र बाख्रा । मुसुक्क हाँस्दै गुरुङले भन्नुभयो–‘बस्ती एकान्त भएकाले घर र बस्तुको रेखदेख यसैमा निर्भर छ ।’ याम्फुदिन निवासी गुरुङका दुई जना छोरी झिसमिसेमै घाँस जानु भएको छ । दैनिक घाँस ल्याएर स्कुल जानुपर्ने उहाँहरूको तालिका छ । छुट्टिमा घर र बारीको काममा बाबुलाई सघाउनुपर्छ । ‘बारी मल्नका लागि अरूको गाईगोठ ल्याएको छु ।’–उहाँले भन्नुभयो–‘हप्ता–पन्ध्र दिनसम्म घाँसले थाम्छ होला । खनजोत गरेर आलु मकै लगाउने कामले हिउँद बित्छ ।’
चार जना छोराछोरीदेखि गाईबस्तु स्याहार गर्ने जिम्मा उहाँको काँधमा छ । बिहानीको जाडोमा सुरुप्प–सुरुप्प चिया पिउँदै उहाँले पत्नीको मृत्यु सुत्केरी हुँदा भएको बताउनुभयो । पत्नी नरमाया गुरुङले तीन छोरीलाई घरमै जन्माउनु भएको थियो । चौथो सन्तान छोरा जन्माउने क्रममा पत्नीको अत्यधिक रक्तश्राव भएर मृत्यु भयो । २९ वर्षीया पत्नीको मृत्युले सिंहराजलाई सम्हालिन निकै गार्हो भयो । ‘मर्ने त मरेर गए । बाँच्नेले गरी खानुपर्छ ।’–उहाँले आँशु पुछ्दै भन्नुभयो । उहाँ भर्खरै जन्मिएका छोरा सुशन र छोरीहरूको रेखदेख र खेतीपातीमा व्यस्त बन्नुभयो । ‘छोरा ११ वर्षको भएपनि मावलीघरमै बस्छ ।’–उहाँले भन्नुभयो । गुरुङले भन्नुभयो–‘मावलीमा माया र रेखदेख दुवै पायो । अब त हुर्कियो । कहिलेकँही आउँछ ।’ गुरुङका अनुसार गर्भवती हुँदा चार पटकसम्म न त चेकजाँच गर्ने चलन थियो । न त पूर्व तयारी नै । सुत्केरी गराउन अस्पताल लैजाने कुरा त कल्पना बाहिरको हुन्थ्यो । उहाँले भन्नुभयो–‘आजभोलि दुर्गममा सुत्केरी व्यथाले च्यापिएकालाई हेलिकप्टरले लैजान्छ भनेको सुनेको छु । मेरो त यस्तै भयो । अरू कसैको नहोस् ।’
पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङकी दिलुशा खिम्दिङ लिम्बूले चौथो सन्तान जन्माउने क्रममा मृत्यूवरण गर्नु पर्यो । ०७५ कात्तिक १३ गते । व्यथाले च्यापेपछि घरमै छोरा त जन्माइन् । तर, सालनाल खसेन । धेरै रगत बग्यो । डोकोमा हालेर अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भयो । लिम्बूले तीन सन्तान घरमै जन्माउनु भएको थियो । स्वास्थ्य स्वयम्सेविका माङगेना खिम्दिङ लिम्बूका अनुसार गाउँघरमा अझैपनि सुत्केरी गराउन धामीझाँक्रीप्रति विश्वास गर्ने चलनको अन्त्य हुन सकेको छैन । गर्भ रहेदेखि स्वास्थ्य चौकी जाने र परामर्श गर्ने चलन प्रभावकारी हुन सकेको छैन । सिरीजङ्गा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङका अनुसार प्रचारमा देखिनका लागि भन्दा व्यवहारमा देखिने गरी काममा ध्यान दिनुपर्छ । गोष्ठी र कार्यक्रम पनि गर्नुपर्छ तर वास्तविक गर्भवति र परिवारसम्म स्वास्थ्यसँग सम्बन्धित विषयवस्तु जोड्नसक्नुपर्छ । आफ्नो गाउँपालिकाका सबै वडामा गर्भवति र सुत्केरीमा मात्र होइन,स्वास्थ्य सेवा पाउन नसकेका नागरिकका लागि आफू प्रतिबद्ध रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।
०७५ साउन महिनादेखि ०७६ भदौसम्म आठ जना सुत्केरी आमाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ र चालु आर्थिक वर्ष २०७६/०७७ को मङ्सिरसम्म गरी तीन वर्षको अवधिमा १६ जनाले ज्यान गुमाएका छन् । घरमै बच्चा जन्माउने चलन र सालनाल नझरेर तथा अत्यधिक रक्तश्राव भएर ज्यान गुमाएका छन् । जिल्लामा वार्षिक औसतमा ३ हजार ४ सय २२ जना महिला गर्भवती हुने जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये ६० प्रतिशतले घरमै बच्चा जन्माउने गरेको पाइन्छ । आर्थिक वर्ष २०७५/०७६ मा ५ सय ८३ जना दक्ष प्रसूतिकर्मीबाट सुत्केरी भएका छन् । तीमध्ये १ सय ३१ जनाको शल्यक्रिया र बाँकीको सामान्य तरिकाले सुत्केरी गराइएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ५ सय ३५ जना मध्ये १ सय ६२ जनाको शल्यक्रियाबाट प्रसुति गराइएको थियो । आर्थिक वर्ष २०७३/०७४ मा १ सय २४ जनाले शल्यक्रियामार्फत बच्चा जन्माएका छन् । चेतनाको कमी, आर्थिक अभाव, भौगोलिक बनावट र गाउँले चलनले प्रसुती गराउन अस्पताल ल्याउनेको चलन प्रभावकारी हुन सकेको छैन । जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले गाउँमा रहेका स्वास्थ्यकर्मीको भूमिका कमजोर हो वा सेवाग्राही नै नमानेका हुन् भन्नेमा बुझ्न नसकेको बताउनुभयो । स्वास्थ्य कार्यालयका प्रमुख पुण्यमणी तिम्सिनाले जनचेतनामुलक कार्यक्रम र अस्पताल ल्याउने आकर्षक योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘गर्भवति भएदेखि नै स्वास्थ्य चेकजाँच गर्नुपर्छ भनेर मात्र नहुँदोरहेछ । बरू स्थानीय तहसँग सहकार्य गरेर केही सुविधा पनि थप्न सके कार्यक्रम प्रभावकारी बन्न सक्थ्यो कि !’
जनासाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा मातृ मृत्यूदर प्रति लाख २ सय ३९ रहेको उल्लेख छ । दीगो विकास लक्ष्य स्वीकार गरेको नेपालले मातृ मृत्युदर ७० मा झार्ने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सञ्चालित ‘सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या भई जोखिममा परेका महिलाको हवाइ उद्धार गरी तोकिएको अस्पतालमा पु¥याएर गुणस्तरीय सेवा दिनु रहेको’ उल्लेख छ । नेपालको संविधान भाग–३ मौलिक हक र कर्तव्य धारा ३५ स्वास्थ्यसम्बन्धी हकः (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको छ । संविधान देशको मुल कानुन भएकाले संविधानको मर्म अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग दुर्गम क्षेत्रका गर्भवति तथा सुत्केरी महिलाका लागि हवाइ उद्धार गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक छ । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसहित सम्वन्धित मन्त्रालय र कार्यालय गम्भीर हुनुपर्ने खाँचो औँल्याइएको छ ।
देवराज गुरुङ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…