दुई वर्षदेखि आमा सुरक्षा कार्यक्रम वापतको प्रोत्सान रकम नपाएको गुनासो

  २५ जेठ २०८१

जिल्ला अस्पतालमा कार्यरत प्रसुति विभाग अन्तर्गत स्वास्थ्यकर्मीहरूले दुई वर्षदेखि 'आमा सुरक्षा कार्यक्रम' वापतको प्रोत्सान रकम नपाएको गुनासो गरेका छन् । सरकारले मातृशिशु मृत्युदर न्यून गर्नका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीबाट तोकिएको समयमा गर्भजाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई प्रोत्साहन तथा बाटो खर्च स्वरुप आमा सुरक्षा कार्यक्रम अन्तर्गतको पाउनु पर्ने रकम नपाएका हुन् ।

नियम अनुसार पाउनुपर्ने रकम पनि नपाएको र सो विषयमा अस्पताल प्रशासनको लापरबाही रहेको स्वाथ्यकर्मीहरूको भनाइ छ । जिल्ला अस्पतालमा सुत्केरी हुन आउने सुत्केरी आमाले गर्भवती जाँच स्वास्थ्य निर्देशिका अनुसार एक जनाको अवस्था हेरी २ हजार ८ सयदेखि २ हजार रुपियाँसम्म प्रोत्साहान वापतको रकम पाउने सुविधा रहेको र जिल्ला अस्पतालमा हाल अस्पताल व्यवस्थापन समितिको खारेजीको पुन नियुत्तिका विषयमा उच्च अदातमा रिट परेको कारण लामो समयदेखि रोकिएको आमा सुरक्षा कार्यक्रम वापतको प्रोत्सान रकम पाउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले बताउनु भयो ।

सुत्केरी गराउने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अवस्था हेरिकन प्रोत्साहन वापतक रकम पाउने व्यवस्था रहेको अस्पतालकी नर्सिङ इन्चार्ज सम्झना श्रेष्ठले बताउनु भयो । समयमै प्रोत्साहन वापतक रकम पाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीहरूले आवज गर्दै आउनु भएको र तथ्याङ्क सङ्कलन गरी छिट्टै रकम भुक्तानीदिने योजनामा अस्पताल प्रशासन लागि परेपनि केही जटिलताले रोकिएको सुपरटेन्डेट डा. खनालको भनाइ छ ।

जिल्ला अस्पतालमा आफू कार्यरत रहँदा एक वर्षकै प्रोत्साहन वापतको रकम पाउन नसकेको पूर्व जिल्ला अस्पताल, प्यूठानमा कार्यरत एमडिजिपी डा. तथा स्थानीय सन्तोष केसीले गुनासो गर्नुभयो । डाक्टरले काम गरेको पैसा समयमै नपाउनु, अस्पतालको प्रशासनिक फितलो हुनुको कारण अस्पतालको प्रसुति विभाग प्रभावित भएको केसीले बताउनु भयो ।

सरकारले २०६५ सालमा 'आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यविधि निर्देशिका' जारी गरेर मातृ मृत्युदर कम गर्नका लागि कार्यक्रम लागु गरेको हो । अहिले उक्त कार्यविधि निर्देशिका २०७३ सालमा तेस्रो पटक संशोधन गरेको छ । नेपालमा उच्च रहेको मातृ तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्यले प्रसुति सेवालाई निःशुल्क रूपमा प्रदान गर्न कार्यक्रम ल्याइए पनि जिल्ला अस्पतालमा कार्यरत प्रसुति विभाग अन्तर्गत स्वास्थ्यकर्मीहरूले दुई वर्षदेखि आमा सुरक्षा कार्यक्रम वापतको प्रोत्सान रकम पाउन सकेका छैनन् ।


रविन्द्र पाण्डे