दुई महिनादेखि कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

  ०७६ जेठ १९ गते

जिल्लाका अधिकांश स्थानिय तह कर्मचारीविहीन भएका छन् । कर्मचारी समायोजनपछि कर्मचारीहरू आ–आफ्नो पायक पर्ने ठाँउमा सरूवा भएर गएका कारण यस्तो समस्या भएको हो ।

दुई ओटा नगरपालिका र १० ओटा गाउँपालिका रहेको बझाङमा कर्मचारी नभएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

मन्त्रालयबाट कर्मचारी खटाइएको पत्र पठाएको भए पनि कर्मचारी कार्यालयसम्म पुग्दैनन् । जयपृथ्वी नगरपालिकामा ०७५ चैत १५ गते प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग साही सरूवा भएर गएपछि नगरपालिका अधिकृतविहीन भएको छ ।

कर्मचारी समायोजनका क्रममा भक्तराज जोशी, भिमबहादुर साही, गम्भीरसिंह विष्ट नगरपालिकामा खटाइएको भएपनि बझाङ आएका छैनन् । उनीहरू जिल्ला नपुग्दै बिच बाटोमै अन्यत्रै सरूवा मागेर गएको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृतका लागि बेलाबेला मन्त्रालयमा धाएको भए पनि दुर्गम भएका कारण कर्मचारी आउन नमान्ने र आए पनि बिच बाटोबाटै अर्को ठाँउ जाने गरेको जयपृथ्वी नगरपालिका प्रमुख वीरेन्द्रबहादुर खडकाको भनाई छ ।

उनले भने–“मन्त्रालयबाट कर्मचारी खटाइएको भनेर धेरै पत्र आएपनि कर्मचारी आइपुगेका छैनन् । कर्मचारीहरू पनि घर पायकमै बस्न चाहान्छन् । हाम्रो जस्तो दुर्गम ठाँउमा आउन मान्दैनन् । भएका कर्मचारीलाई आर्थिक कारोवारको जिम्मा दिँदैनन ।”

नगरपालिकाको योजनाको काम रोकिएपछि वैशाख ८ गते नगर कार्यपालिकाको बैठकले शाखा अधिकृत सत्यराज जोशीलाई आर्थिक कारोवार सञ्चालन गर्न दिनका लागि निर्णय गरेर मन्त्रालयमा पठाएको भए पनि मन्त्रालयले कुनै चासो नदेखाएको खडकाको आरोप छ ।

आर्थिक वर्ष सकिन लाग्दा पनि कर्मचारी नभएपछि योजनाको भुक्तानी अन्यौलमा परेको छ । बझाङको पहिलो नगरपालिका जयपृथ्वी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल नहुँदा विभिन्न योजनाको भुक्तानी कार्य अलपत्र परेको छ ।

लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि विभिन्न योजनाका उपभोक्ता समितिहरूले योजनाको पैसा भुक्तानी नपाएको गुनासो गरेका छ ।

नगरपालिकाका योजनाहरूको काम ७० प्रतिशत सम्पन्न भएको भए पनि अधिकृत नभएपछि १४ प्रतिशत मात्र भुक्तानी भएको छ । नगरपालिकामा साना ठुला गरेर ४ सय भन्दा बढी योजनाहरू छन् ।

भुक्तानीको माग गर्दै दैनिक १०/१५ जना नगरपालिकामा आउने गरेको नगरपालिकाले जनाएको छ । जयपृथ्वी नगरपालिका मात्र हैन जिल्लाका अन्य स्थानीय तहको पनि समस्या उस्तै छ ।

योजनाको कार्य सम्पन्न भएको दुई महिना बितिसक्दा पनि भुक्तानी नपाएको सुइल मयना सडक निर्माण समितिका अध्यक्ष दामोदर धामीले दुखेसो गरे ।

उनले भने–“योजनाको सम्झौता गर्दा समयमै काम सम्पन्न गर्नु भनेर भन्छन् । पेस्की नमागेरै कार्य सम्पन्न गरियो । तर, दुई महिना बित्दा पनि अझै भुक्तानी भएको छैन ।”

अधिकृत नभएको र आर्थिक कारोवारको जिम्मा अरूलाई नदिँदा यस्तो समस्या भएको हो । योजनाको पेस्की पनि नपाएपछि कतिपय योजना अधुरै रहेका छन् ।

स्कुल मर्मतका लागि २ लाख रुपियाँ परेको र पेस्की पनि नपाएपछि कामदारले बिचैमा काम छोडेको रघुनाथ आधारभुत विद्यालय साइलावगरका प्रधानाध्यापक देवकी देवीजोशीले बताइन् ।

उनले भनिन्–“मर्मत कार्यका लागि आवश्यक सामग्री उधारो ल्याएर काम सुरू गरेको भएपनि कामदारहरूले ज्याला नपाएपछि काम गर्दैनौँ भन्छन । चैत्रमा सकिने काम अझै सकिएको छैन ।”


रमेश केसी