दुई महिनादेखि अस्पतालमा औषधि अभाव, बिरामी मर्कामा

  ०८१ कात्तिक १६ गते

जिल्ला अस्पताल, हुम्लामा दुई महिनादेखि औषधि अभाव भएपछि बिरामी मर्कामा परेका छन् । जिल्लाको एक मात्रै जिल्ला अस्पतालमा प्रयाप्त औषधि नहुँदा उपचारको लागि आउने बिरामी मर्कामा परेका हुन् ।

यसअघि आर्थिक वर्ष २०७९/८० का लागि आएको औषधिले जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामीलाई काम चलाए पनि त्यसपछि बिरामीले औषधि नपाएको गुनासो गरेका छन् ।

यतिबेला हुम्लाका स्वास्थ्यकर्मीले जेनतेन बिरामीको उपचार गरेको भए पनि औषधि नहुँदा निजि मेडिकलबाट महङ्गो मुल्य तिरेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ । औषधि खरिद नहुँदा उपचार गर्न जाने बिरामी र १५ शैयाको बेडमा उपचाररत बिरामीले निजि मेडिकलबाट औषधि खरिद गर्नुपर्ने अवस्था रहेको स्थानीय अस्मिता बुढाले गुनासो गर्नुभयो । उहाँका अनुसार आफू आफ्नो छोरा बिरामी भएर अस्पतालमा जाँदा त्याहाँ प्रयाप्त औषधि नभएर निजि मेडिकलमा गएर ओषधि किन्नु परेको गुनासो गर्नुभयो ।

त्यस्तै निधार माथि चिलाए फुस्रो बनेर घाउ आएको भन्दै जिल्ला अस्पतालमा धाउँदा पनि सो घाउको औषधि छैन भन्दै आफूले पनि निजि मेडिकलमा गएर औषधि किनेको स्थानीय गोर्ख शाहीले गुनासो गर्नुभयो । उहाँले सामान्य खाले औषधि नभए 'जिल्ला अस्पतालको के काम' भनेर दुख व्यक्त गर्नुभयो ।

नेपाल सरकारले ९८ प्रकारको औषधि निःशुल्क वितरण गर्दै आएको भए पनि जिल्ला अस्पताल, हुम्लामा सामान्य रुघाखोकीका साथै झाडापखालाको औषधि समेत पाउन छोडेको छ । स्पतालमा बिरामी भर्ना भए पनि बिरामीलाई चाहिने आवश्यक औषधि बजारका निजी मेडिकलबाट खरिद गरेर लिनु पर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।

गत वैशाखमा कर्णाली प्रदेशबाट केही औषधि पठाए पनि गत भदौ महिनादेखि हुम्लामा औषधिको अभाव भएको स्वीकार गर्दै जिल्ला अस्पताल, हुम्लाका प्रमुख प्रतिक्षा भारतीले नेपाल सरकारले कार्यालय प्रमुख सरुवा गर्ने प्रक्रियाले समस्या उत्पन्न भएको बताउनु भयो । उहाँले दशैँ तिहारमा औषधिको समस्या भएको र अबको दुई हप्तामा यो समस्या समधान गर्ने प्रतिक्रिया दिनुभयो । आर्थिक वर्ष २०८१/८२ को औषधि खरिद गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चितता गरिएको भए पनि जिल्ला अस्पतालमा प्रयाप्त औषधि नहुँदा अस्पतालमा उपचारको लागि आउने बिरामी मर्कामा परेका हुन् ।


नन्द सिंह